सिन्धुली– सिन्धुलीको पर्यटकिय स्थलको प्रचारका लागि युवा जुटेका छन् । जिल्लाका युवाहरु पर्यटकिय स्थलको प्रचारका लागि मोटरसाइकल र्यालीसहित पर्यटकिय स्थल पुगेका हुन् । ‘सिन्धुली राईडर’ नामक एक सय बढी युवाहरुको समूहले मंगलबार सिन्धुलीमाढीको कालिमाई मन्दिर देखि मरिण गाउँपालिका ५ पञ्चकन्या सम्म मोटरसाइकल यात्रा गरेका छन् । जिल्लाको कमलामाई नगरपालिका ५ स्थित कालिमाई मन्दिरको दर्शन गरेर सिन्धुलीमाढीको परिक्रमा गरेका युवाहरु मरिणको पञ्चकन्या मन्दिर पुगेका थिए । उनीहरुलाई कालीमाई मन्दिरमा बागमती प्रदेशका सांसद छत्र बहादुर बम्जन, वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर खड्का लगायतले स्वागत गरेका थिए । २४ क्यारेट ग्यालेरि र स्माईल क्याफे एण्ड रेष्टुरेन्टले प्रायोजित गरेको उक्त मोटरसाइकल र्यालीले सिन्धुलीमाढीको परिक्रमापछि ५० वटा भन्दा बढी बाइकसहित पञ्चकन्या पुगेका युवाहरुले पर्यटकिय क्षेत्र पञ्चकन्या पोखरिको अवलोकन गरेका थिए । जिल्लाको पर्यटकिय क्षेत्रको प्रचार, लागुऔषधविरुद्ध र युवाको समग्र विकासका लागि बाइक यात्रा गरेको बाइक राइडरको नेतृत्व गर्नुभएका कमलामाई नगरपालिका ५ का कुमार दुलालले बताउनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी, वडा नम्बर ५ का वडा अध्यक्ष लगाएतले मोटरसाइकल यात्रीलाई पन्चकन्यामा स्वागत गरेका थिए । युवाहरुको उक्त कार्यक्रमको प्रशंसा गर्दै मरिण गाउँपालिकाको अध्यक्ष विर्मश ‘प्रख्यात’ मुक्तानले पर्यटकिय क्षेत्रको प्रचारका लागि सम्पूर्ण एक जुट हुनुपर्ने बताउनुभयो । ‘युवाहरुले शुरु गरेको यस कार्यक्रम एकदमै राम्रो छ । पञ्चकन्या पोखरीलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्यलाई विभिन्न पालिकाहरुबाट आउनुभएका यात्रीहरुले टेवा पु¥याउनुभएको छ ।’ उहाँले धन्यवाद दिदैँ भन्नुभयो ।

पञ्चकन्यामा वनभोज स्थल, गेट निर्माण, मन्दिर निर्माण, खानेपानीको व्यवस्था समेत गरिएको छ । जिल्लाकै एक मात्र प्राकृतिक पोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी पालिकाको आम्दानीको श्रोत बनाउने र जिल्लाको पर्यटन क्षेत्रको प्रवद्र्वनमा सहयोग पुर्योउने लक्ष्य रहेको उहाँको भनाई छ । पोखरीको विकासका लागि गुरुयोजना बनाई काम अगाडी बढिरहेको उहाँले बताउनुभयो । पोखरीको विकासका लागि गुरुयोजना बनाई काम सुरु गरिएको छ । पोखरी परिसरमा घेराबेरा, वनभोजस्थल, शौचालय, खानेपानी र त्यहाँसम्म पुग्ने सडकको व्यवस्था भइसकेको छ । उहाँले पचंकन्याको प्रचारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गरिरहेको अध्यक्ष मोक्तानले बताउनुभयो । सिन्धुलीमाढीको पश्चिमतर्फ २० किलोमिटर दुरीमा पर्ने पञ्चकन्या ऐतिहासिक तथा धार्मिक पोखरी हो । मरिण गाउँपालिका ५ घाटामा पञ्चकन्या पोखरी अवस्थित छ । महादेवस्थान गाविसको घाटा गाउँस्थित घना जंगलको बीचमा रहेको पञ्चकन्या पोखरीलाई यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक मानिन्छ । पञ्चकन्या पोखरी हजारौं वर्ष अगावैदेखिको निर्मल जलकुण्ड मानिन्छ । हजारौं वर्षदेखि एकै खाले जल सतह रहेको र घना जंगल, जंगली जनावर र पंक्षीहरुको दृश्यले पञ्चकन्या पोखरीको आकर्षण बढाएको छ । किम्बदन्तीअनुसार पञ्चकन्या पोखरीमा पाँच वटी देवकन्याको बासस्थान रहेको मानिन्छ । पञ्चकन्या पोखरीको डिलमा रहेको पञ्चकन्या देवीलाई शुद्ध भै पूजा अर्चना गरी भाकल गरे मागेको वर पाईने जनविश्वास रही आएको छ । पञ्चकन्या पोखरीमा फूल्ने फुल, स्वच्छ, हराभरा वातावरण, सबै प्रकारको सौन्दर्यले भरिपूर्ण दृष्यले पर्यटक आकर्षित भएका छन् । ऐतिहासिक तथा धार्मिक पोखरी सानै भएपनि यसले प्रदान गर्ने आनन्द उत्कृष्ट छ । पोखरी छेउमै पञ्चकन्या मन्दिर छ । बेला–बेलामा यहाँ मेला पनि लाग्छ । मन्दिरको दर्शन गर्न र प्रत्येक वर्ष धान्यपूर्णिमाका दिन मेला भर्न श्रद्धालु आउने गर्दछन् ।
