शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

म्याटबिना भुइँमा बस्दैनन् सिन्धुलीमा ल्याएको कोरियन गाई !

मंगलवार , कार्तिक १४, २०८०

सिन्धुली – सिन्धुलीलाई दुधको हब बनाउने उद्देश्यले नङह्युप राष्ट्रिय कृषि सहकारी महासंघ र सियोल दुग्ध सहकारी कोरियाको साझेदारीमा हेफर कोरियामार्फत् होलेस्टेन फ्रिजिन जातका गाई (बाच्छी) र साँढे (बाच्छा)हरू एक वर्षअघि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।

कृषि मन्त्रालयले ती बाच्छी सिन्धुली जिल्लाका कमलामाई नगरपालिकामार्फत त्यहाँका ५० किसानलाई वितरण गरेको छ । निःशुल्क रुपमा बाच्छी पाएपछि किसान निकै खुसी देखिन्छन् ।

हेफर नेपालको प्राविधिक सहयोगमा बाच्छी उपलब्ध गराएपछि कमलामाई नगरपालिकाको वडा नम्बर ४ र ५ मा पशुपालन र दुध क्षेत्रमा कायापलट नै भएको किसान बिमला घलानले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई गाईमात्र दिएको छैन, ज्ञान र सिप दिएको छ, जसले गर्दा पशुपालनमा मात्र होइन, अन्य व्यक्तिगत तथा समाजिक जीवनमै परिवर्तन ल्याएको छ ।”

सिन्धुली, राजपानीका किसान पहिलादेखि नै गाई, भैंसी पालन परम्परागत रुपमा गर्थे, तर जबदेखि कोरेली गाई गोठमा आएको छ, तबदेखि अन्य गाईवस्तुको व्यवहार र स्याहार सुसारमा परिवर्तन आएको छ । घलानले भन्नुभयो, “पहिला हामीले पालेको लोकल गाईले डेढदुई लिटर दुध दिन्थ्यो भने अहिले अढाईदेखि तीन लिटर दिन थालेको छ, कारण हो स्याहार सुसार र खानपान ।”

कोरेली गाईसँगै स्थानीय गाईको पनि स्याहार सुसार र खानपिनमा ध्यान दिन थालेपछि ती गाईको पनि व्यवहार र क्रियाकलापमा परिवर्तन आएको छ । “कोरेली गाईलाई फोहोर मन पर्दैन,” किसान अनिषा कार्कीले भन्नुभयो, “गोठमा एकछिन फोहर भयो भने गाई कराउन थाल्छन्, बस्दै बस्दैन, त्यसको सिको यहाँका लोकल गाईले पनि गर्न थालेका छन् ।”

उहाँका अनुसार अचेल लोकल गाईलाई पनि साफासुग्घर ठाउँ चाहिन्छ, मिठो मिठो खाना चाहिन्छ, सफा खानेपानी चाहिन्छ । चार वटा लोकल गाई पाल्नु भएकी कार्कीले भन्नुभयो, “कोरेली गाई पाल्न निकै गाह्रो छ, त्यसको निकै हेरचाह गर्नुपर्छ, सफा सुग्घर, खाना–पानी, वातावरण सबैमा ध्यान दिनुपर्छ नत्र केही गडबड भयो बिरामी हुन्छन्, छटपटाउन थाल्छन्, यहाँसम्म कि सफा म्याट भएन भने भुइँमा बस्दैनन् ।”

मास्टर्ससम्म अध्ययन गर्नु भएकी गुणकुमारी घिमिरे यहीँको एउटा उच्च माध्यमिक विद्यालयमा नेपाली विषय पढाउँनुहुन्छ । उहाँले पनि दुधका लागि पशुपालन गर्दै आउनु भएको छ । गैयादेवी महिला उद्यमी स्वावलम्बी समूहका कोषाध्यक्षसमेत रहनु भएकी घिमिरेले पालेको कोरेली गाई पाँच महिनाको गर्भवती छ ।

चार महिनापछि गाईले बच्चा जन्माउँछ । गर्भवती भएको कारण गाईलाई विशेष ध्यान दिनुपरेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो कोरेली बाच्छी पाउँदा ११ महिनाको थियो, त्यतिबेलादेखि स्याहार सुसार गर्दै यहाँसम्म ल्याइपु¥याएको छु । बच्चा पाउने बेला पनि भइसकेको छ ।”

लोकल गाई पाल्नभन्दा यो गाई पाल्न निकै गाह्रो भएको र अहिले बिस्तारै सहज हुँदै गएको उहाँले बताउनुभयो । “यो कोरेली गाई ढुंगामा हिँड्न सक्दैन, समथल र शीतल हावापानी चाहिन्छ,” उहाँले भन्नुभयो, “सुरुमा त बचाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता थियो, खुला छाड्दा भाग्थ्यो, खोजेर ल्याउनु पथ्र्याे, कहिले काहीँ सिङ र खुट्टाले हान्थ्यो । अहिले निकै सहज भएको छ, हामीसँग खेल्छ । यसको नाम माली राखेका छौँ ।”

कोरियाबाट आएका सबै गाईको नाम राखिएको छ । त्यहाँका कोरियन जनताले उपहार दिँदा राखिएको नाम परिवर्तन गरेर किसानले स्थानीय नाम राख्न थालेका छन् । एउटा कोरेली गाईले वार्षिक कम्तीमा ११ हजार लिटर दुध दिन्छ । ८० वटा गाईमध्ये अधिकांश गर्भवती छन् । सबै गाईले बच्चा जन्माएपछि सिन्धुलीमा दुधको क्रान्ति हुने विश्वास गरिएको छ ।

यी ८० वटा गाईले मात्र दुई हजार ५०० लिटर दुध एक दिनमा दिनेछन् । हेफर इन्टरनेसनल नेपालले सिन्धुलीको कमलामाई–५ को माथिल्लो राजपानी कृषक समूह, तल्लो राजपानी कृषक समूह, गैयादेवी कृषक समूह र दमार उद्यमी कृषक महिला समूहलाई गाई वितरण गरेको हो । आत्मनिर्भरका लागि कमलामाई नगरपालिकाका कृषकले गाईभैंसी पाल्दै आएकोमा हेफरले वितरण गरेको कोरेली गाईले धेरै दूध दिने भएकाले सिन्धुलीलाई डेरी भिलेजको रूपमा विकास गर्ने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया