बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाउने तयारीमा मरिण गाउँपालिका

मंगलवार , कार्तिक १४, २०८०

सिन्धुली– गाउँघरमा एउटा ठूलो त्रिपाल या प्लास्टिकलाई विशेषगरी आँगन या अरु खुल्ला ठाउँमा सुकाएपछि धेरैले अनुमान गर्छन्, पक्कै पनि अब यहाँ केही न केही अन्न राखिन्छ । यही नै एक किसिमको बिस्कुन हो । बिस्कुनमा जति पातलो हुनेगरी अन्न राख्यो त्यति नै छिटो सुक्ने भएकोले कृषकले सडकमै प्लास्टिकहरु बिच्छ्याएर धान, मकै लगायत विभिन्न अन्न सुकाउने गर्दछन् । यसमा एकातिर घामको प्रत्यक्ष किरणले अन्नमा रहेको पानीको मात्रा सोस्ने गर्छ । तर, राजमार्ग लगायत भित्रि सडकखण्डमा बिस्कुुुुुुुुुन सुकाउँदा दुर्घटनाको जोखिम हुनेगर्दछ । सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले जिल्लाको मरिण गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन, थ्रेसर प्रयोग गर्न र पराल थुपार्न प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले बताउनुभयो ।

विशेषगरि, मदन भण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिकाको वडा नम्बर २ स्थित सिंदुरे दोभानदेखि वडा नम्बर ७ स्थित देउजोर अठुवा सम्म किसानले सडकमै बिस्कुन सुकाउने, थ्रेसरको प्रयोग गरि धान झार्ने र पराल थुपार्दा दुर्घटनाको जोखिम बढेको अध्यक्ष प्रख्यातले बाउनुभयो । किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले कडा कदम चाल्न लागेको अध्यक्ष प्रख्यातले बताउनुभयो । उहाँले मुख्य तथा भित्री सडकमा जथाभावी बिस्कुन नसुकाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाइ भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन आग्रह गर्दछु ।’ सडकमा बिस्कुन सुकाएमा दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने उहाँले बताउनुभयो । थ्रेसर मेसिन चलिरहेको बेला त्यसबाट उड्ने धुलोले सडकमा यात्रा गर्नेलाई असहज भई दुर्घटनाको जोखिम बढेको अध्यक्ष प्रख्यातले बताउनुभयो । साथै, उहाँले पशुचौपायालाई सडकमा नछाड्न तथा सडक भन्दा दाया वा बाया अन्न सुकाउन आग्रह गर्नुभयो ।

विशेषगरी, मदन भण्डारी राजमार्गको मरिण सडकखण्डमा किसानले उत्पादन गरेका सामग्री विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ । थ्रेसरबाट धान झार्न सडक मै धान थुपार्दा सो सडक भएर आवत जावत गर्ने यात्रु तथा सवारीसाधनहरुलाई विभिन्न समस्याहरु झेल्नुपरेको छ । सडकमा धान, पराल लगायत अन्य अन्न थुपारेको थाहा नपाएर तीव्र गतिमा कुदाइएका मोटरसाइकलहरु दुर्घटनामा पर्ने गरेको छ ।

 

प्रतिक्रिया