बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीबाट पहिलो एनआरएन नागरिकता पौडेलललाई

सोमवार , कार्तिक १३, २०८०

सिन्धुली– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । दुधौली नगरपालिका ४ घर भई हाल संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बस्दै आउनु भएका चेत प्रसाद पौडेल (सिपि पौडेल) लाई सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैर आवासीय नागरिकतालाई प्रजिअ नेपाललेनै हस्तान्तरण गर्नुभएको थियो । पौडेलले नेपाली नागरिकता त्यागेर आइतबार गैर आवासीय नागरिकता लिनुभएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेलले भन्नुभयो, ‘लामो समयपछीको गैर आवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको छु । आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय सिन्धुली प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ पौडेल नेपाल विद्यार्थी संघ सिन्धुलीका पुर्ब सभापति समेत हुनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी नेपालले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताउनुभयो । उहाँका अनुसार नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो । गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरुलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लागेको उहाँले बताउनुभयो ।

गैर आवासीय नेपाली नागरिकताको लागि नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन वा निवेदक विदेशी मुलुकमा बसोबास गरेको अवस्थामा सम्बन्धित मुलुक हेर्न तोकिएको राजदूतावास वा महावाणिज्य दूतावासको सिफारिस आवश्यक पर्नेछ । यसमा १० रुपैयाँको नेपाली हुलाक टिकट टाँस्नुपर्नेछ ।

निवेदक आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण हुनुपर्नेछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र (भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका) बाहेकको देशको नागरिकता, नागरिक भएको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता अनुसूचि (८) को (घ), हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको सक्कल वा सोको प्रमाणित प्रतिलिपी आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया