सिन्धुली– दसैँमा घर जाने यात्रुसँग बढी भाडा लिएको गुनासो आउन थालेपछि सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ सडकमै बसेर अनुगमन गरिरहुनभएको छ । मौका छोपेर चाडबाडको समयमा बढी भाडा लिने सवारी साधनलाई गाउँपालिका अध्यक्ष नेतृत्वको अनुगमन टोलीले कारबाही गरिरहेको हो । शुक्रबार गाउँपालिकाको वडा नम्बर ६ स्थित कपिलाकोटमा गाउँपालिका अध्यक्ष प्रख्यातको नेतृत्वमा ट्राफिक प्रहरी, राजनैतिक दलका प्रतिनिधि, कर्मचारीहरु र नगर प्रहरीले स्थलगत सोधपुछ तथा अनुगमन गर्दा चार जना यात्रुबाट बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ ।
दशैँ मनाउन गाउँ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि मरिणका सडकमा चेकजाँचमा कडाइ गरिएको अध्यक्ष प्रख्यातले बताउनुभयो । संयुक्त अनुगमन टोलीले मदन भण्डारी राजमार्ग हुँदै मरिण आउने सवारी साधनलाई कपिलाकोटमा रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै अध्यक्ष प्रख्यातले त्यस्ता सवारीबाट यात्रुलाई रकम फिर्ता गराई ट्राफिक प्रहरीले कारबाही गरेको बताउनुभयो । उहाँले यात्रुहरुर्लाइ भन्नुभयो, ‘कुनैपनि सवारीसाधनले बढि भाडा लिएमा तुरुन्त मेरो नम्बर ९८६४०५४६०३ मा वा ट्राफिक प्रहरीलाई सम्पर्क गर्नुहोला ।’
संयुक्त टोलीले राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपांग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिरहेको छ ।