बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विदेशको सपना त्यागेर ट्याटु आर्टिस्ट बनेका सिन्धुलीका अभिषेक

बिहिवार , कार्तिक २, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ८ करकरेका अभिषेक थापा स्नातक उत्तिर्ण गरेपछि विदेश जान कन्सल्टेन्सी धाइरहनु भएको थियो । सोसल वर्क (सामाजिक कार्य) मा स्नातक उर्तिर्ण गरेपछि उच्च शिक्षाकालागि विदेश हानिन लाग्नुभएका थापालाई आफ्नो ‘प्यासन’ ले रोक्यो । सानैदेखि स्केच कोर्न माहिर थापाले सामाजिक संजालमा ‘ठमेलबाबु ट्याटु एण्ड स्कुल’ को विज्ञापन देख्नुभयो र शुरु भयो उहाँको ट्याटुको यात्रा । झण्डै तीन महिनाको प्रशिक्षणपछि थापाले व्यवसायिक रुपमा ट्याटु आर्ट गर्दै आउनुभएको छ । छोटो समयमै ट्याटु हान्ने कलामा राम्रो हात बसेपछि थापाले आफूले प्रशिक्षण लिएको ठमेल बाबु ट्याटु एण्ड स्कुलमै ट्याटुको प्रशिक्षण दिइरहनुभएको छ । ‘प्यासन’ लाई पेसा बनाउँदा आफू सन्तुष्ट रहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सानैदेखि कपिमा स्केच कोर्ने गर्दथे । अहिले शरिरमा स्केच खोपिरहेको छु ।”

व्यवसायिक रुपमा ट्याटु शुरु गरेपछि झण्डै एक सय बढिको शरिरमा ट्याटु खोपेका अभिषेकको शरिरमा भने कुनै ट्याटु छैन । उहाँ भन्नुहुन्छ, “ट्याटुको पछाडि रोचक किस्सा र मर्म जोडिनुपर्छ जस्तो लाग्छ । कस्तो र के ट्याटु हान्ने भनेर सोच्दै छु ।” धेरैले ट्याटु लहडमा नै बनाउने गर्छन् । केटीहरूले सानो–सानो ट्याटु बनाउँछन् भने केटाहरूले ठूलो ट्याटु बनाउने गरेको उहाँ बताउनुहुन्छ । कतिले आफ्ना शरीरको घाउ–खत लुकाउन त कतिले प्रेम–भाव दर्शाउन ट्याटु खोपाउने गरेको पाइन्छ । आफूलाई आधुनिक पुस्ताको प्रतिनिधि भन्न रुचाउने युवाहरुले ट्याटुलाई आफ्नो विद्रोह र स्वच्छन्दतासँग पनि जोडेर व्याख्या गरेको थापा बताउनुहुन्छ । अहिलेका पुस्ता अर्थपूर्ण ढंगले नै ट्याटु खोपाउन चाहने उहाँको अनुभव छ ।

ट्याटु खोप्न देश, विदेशका ग्राहकहरु ठमेलबाबु ट्याटु एण्ड स्कुलमा आउने गरेको थापा बताउनुहुन्छ । ट्याटु सेन्टरमा थापाले फरक–फरक प्रवृत्ति, स्वभाव तथा प्रकृतिका मानिसहरु भेटनु भयो । एक युवती थिइन् । उनी एकदम सानो ट्याटु खोप्न आएकी थिइन् । आफ्नो प्रेमीसँग आएकी उनी मेसिनको आवाजले नै कहालिन थालिन् । मेसिन अन गरेर नै १५–२० मिनेट सम्म पर्खिनु परेको उहाँ सम्झनुहुन्छ । अन्त्यमा उनका प्रेमीले समातेर ट्याटू हान्न लगाए । उनीबाहेक धेरै चाहिँ प्रारम्भमा डराएका हुन्छन, तर अन्त्यमा दुखेन भन्दै खुसी भएर फर्किने गरेको थापाले बताउनुभयो ।

चार वर्षदेखि ट्याटु आर्टिस्ट र प्रशिक्षकका रुपमा काम गर्दै आउनुभएका थापाले शरिरका विभिन्न भागमा ट्याटु खोपेको अनुभव छ । उहाँले भन्नुभयो, “ट्याटु सो अपकै लागि हानिदैँन । देखाउनकै लागि हो भने मान्छेले झट्ट हेर्दा नदेखिने ठाउँमा किन खोप्छ त ? मैले पुरुष र महिलाको गोप्य अंगमा पनि ट्याटु खोपिदिएको छु । कतिपयले सबैले देख्ने ठाउँमा ट्याटु खोप्छन् त कसैले सबैलाई देखाउन चाहँदैनन् ।” त्यस्तै, पछिल्लो समय आफ्नो शरीरको अंगमा प्रेमी र प्रेमिकाको नाम खोपेर दंग पर्ने युवा/युवतीको जमात ठूलो रहेको थापाले बताउनुभयो । प्रेममा रहेका बेला त्यसरी नाम खोपाउनेहरुले पछि ब्रेकअप भएपछि पुनः ‘कभरअप’ गर्ने गरी नयाँ ट्याटु बनाउन    आउँछन् ।

सिन्धुलीमापनि ट्याटुको फेसन भित्रिएकोले युवायुवतीमा निकै क्रेज देखिएको थापा बताउनुहुन्छ । तर, छ्यापछ्याप्ती मेसिन किन्ने र बिना ज्ञान एकदमै अस्वस्थ वातावरणमा ट्याटु हान्ने गरेको विकृत अवस्थाप्रति उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “ ट्याटु भनेको सिधैँ रगत र व्यक्तिँग सरोकार राख्ने भएकोले एकजनाबाट अर्कोमा रोग सजिलै सर्न सक्छ ।” सावधानि अपनाएरमात्रै ट्याटु खोप्न थापाले आग्रह गर्नुभयो । दशैँकालागि सिन्धुली आउनुभएका थापालाई ट्याटु खोपिदिन धेरैले आफर गरेका छन् । उहाँ भन्नुहुन्छ, “दशैँमा घरमै बसेर ट्याटु खोपिदिने योजना छ ।” ट्याटु आर्टिस्ट थापाका अनुसार अहिले ट्याटु खोपाउने जमात बढ्दो छ । ट्याटुमा धेरैले नाम अर्थात् अक्षर खोपाउने, कतिले देवीदेवता वा आफ्ना प्रिय मान्छेको आकृति खोपाउने गरेको उहाँ बताउनुहुन्छ । यो रियलिज्म, थ्रिडी, ज्यामेट्रिक, मण्डला, पोट्रेट आदि शैलीका हुन्छन् । ट्याटु खोपाएको मूल्य ठ्याक्कै यति नै भन्ने नभएको उहाँ बताउनुहुन्छ । ट्याटु आर्टिस्ट र ट्याटुको शैलीअनुसार त्यसको शुल्क फरक हुने गर्छ । थापाका अनुसार सामान्यतः ४ हजार ५ सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म ट्याटु खोपाउँदा खर्च हुन्छ । ट्याटु आर्टिस्टअनुसार यसको मूल्य फरक पर्न सक्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया