सिन्धुली– सिन्धुलीमा बुधबार दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा पाँचजना घाईते भएका छन् । जिल्लाको तीनपाटन गाउँपालिका २ भिमस्थानस्थित सिन्धुली–चकमके भित्री सडक खण्डमा मोटरसाइकल जुध्दा एकजनाको अवस्था मध्यम रहेको छ भने चारजना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तीनपाटन गाउँपालिका २ भिमस्थानको क्याम्पस गेटबाट सिन्धुली तर्फ आउदैँ गरेको प्रदेश ०२–०२–००१ प ६४४३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको ना २९ प ९६४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा प्रदेश ०२–०२–००१ प ६४४३ नम्बरको मोटरसाइकल चालक विक्रम विश्वकर्मा मध्यम घाईते भएका छन् । तीनपाटन गाउँपालिका ३ का २४ वर्षिय विश्वकर्माको दायाँ खुट्टामा चोट लागेको छ भने उनलाई थप उपचारकालागि काठमाडौँस्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा एक नाबालकसहित चारजना सवार रहेको सिन्धुली प्रहरीले बताएको छ । उक्त मोटरसाइकलमा सवार ३२ वर्षिय रेवति माया सार्कि, सार्किको ६ वर्षिय छोरा ईश्वर रम्तेल र २४ वर्षिय धनमाया मग्रातिको अवस्था सामान्य रहेको छ । धनमाया अस्पतालबाट डिस्चार्ज भइसकेकि छिन् । त्यस्तै, प्रदेश ०२–०२–००१ प ६४४३ नम्बरको मोटरसाइकल चालक तीनपाटन गाउँपालिका ३ का ४३ वर्षिय बिनोद भन्ने दिलबहादुर ठकुरीपनि सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको तीनपाटन गाउँपालिका १ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा उपचार भइरहेको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।