बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

विकासे कार्यालयको चालु भन्दा पूँजिगत खर्च बढि

आइतवार , आश्विन २८, २०८०

सिन्धुली – विकासे कार्यालय शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको चालु खर्च भन्दा पूँजिगत खर्च बढि देखिएको छ । गत आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक पूँजिगत खर्च ९१.३३ प्रतिशत रहेको छ भने चालु खर्च ५६.४२ प्रतिशत मात्र रहेको कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । गत आर्थिक वर्षको पुजिगत खर्च २२ करोड १५ लाख ४० हजार ८५९ रहदा चालु खर्च भने एक करोड २६ लाख ३७ हजार ३१३ रुपैँया रहेको घिमिरेले बताउनुभयो । प्रादेशिक पूँजिगत खर्चतर्फ ४९ योजनामा खर्च भएको हो । सडक अन्तर्गत चारवटा कालेपात्रे, आठवटा स्ल्याब ढलान, १५ वटा नाल र दुईसडक पुल/कल्भर्ट निर्माण भएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । त्यस्तै, भवनतर्फ एउटा सरकारी भवन र तीनवटा सामुदायिक भवन निर्माण भएको घिमिरेले जानकारी दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प्रदेशका दुईवटा बहुवर्षिय आयोजना सिन्धुलीमा संचालनमा रहेको छ । कमलामाई नगरपालिका र तीनपाटन एकीकृत जग्गा विकास कार्यक्रमको भौतिक पुर्वाधार निर्माण भएको घिमिरले जानकारी दिनुभयो । कमलामाई नगरपालिकाको एकीकृत जग्गा विकास कार्यक्रमको भौतिक पूर्वाधारको ८७ प्रतिशत र तीनपाटनको ९८ प्रतिशत भौतिक प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्रदेश अन्तर्गत २० लाख तलका ३५ वटा योजनाहरु मध्ये छ वटाबाहेक सबै योजना सम्पन्न भएको घिमिरेले बताउनुभयो ।

यता, संघको सशर्त अनुदान तर्फ ५४.४५ प्रतिशत पूजिँगत खर्च भएको प्रगती प्रतिवेदनमा उल्लेख छ । संघको शशर्त अनुदानतर्फ गत आर्थिक वर्षमा दुई करोड २८ लाख १६ हजार १४० रुपैँया खर्च भएको छ । संघीय सशर्त अनुदान अन्तर्गत सिन्धुलीमा तीनवटा कार्यक्रम संचालन भएको प्रमुख घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार बस्ती विकास कार्यक्रम अन्तर्गत ९३ लाख ९७ हजार २५० रुपैँया खर्च भएको छ । त्यस्तै, सघन सहरी विकास कार्यक्रम अन्तर्गत ९२ लाख ९७ हजार ९९० र आवास व्यवस्था कार्यक्रम अन्तर्गत ४१ लाख २० हजार ९०१ रुपैँया खर्च भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९/०८० सम्म सिन्धुलीका एक सय २२ घरपरिवार लाभान्वित भएका छन् । उक्त कार्यक्रम अन्तर्गत सिन्धुलीमा सो आ.व. सम्म तीन करोड ७६ लाख ८५ हजार रुपैँया खर्च भएको छ । त्यस्तै, खरको छाना उन्मुलन कार्यक्रम अन्तर्गत सिन्धुलीका एक सय ११ घरपरिवारलाई पहिलो किस्ता भुक्तानिवापत एक करोड ६५ लाख ३६ हजार पाच सय रुपैँया खर्च भएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा प्रशासनिक शुल्कतर्फ आठ लाख ५९ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३० हजार र बेरुजु चार लाख ५७ हजार २६० गरि कुल १३ लाख ४६ हजार २६० रुपैँया राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया