बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सामाजिक भत्ता लिन बैंक जानु नपरेपछि सेवाग्राही हर्षित

शनिवार , आश्विन २७, २०८०

सिन्धुली– आजबाट नेपाली हिन्दु धर्मावलम्वीको महान चाड विजयादशमी शुरु भएको छ । दशैँ शुरु भएसँगै सिन्धुलीका बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेको भिड लागेको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ । सामाजिक सुरक्षा भत्तासँगै पेन्सन लगायत अन्य पैसा झिक्न जिल्लाका अधिकांश बैंकहरूमा भिडभाड बढेको हो । बैंकको गेटदेखि बाटोसम्म ज्येष्ठ नागरिकहरु लामबद्ध भएको देखिन्छ । चाडबाडको समयमा बैंकमा सेवाग्राहीको भिडभाड हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने गरेको छ । यता, वडाबासीलाई चाडबाडको समयमा सामाजिक सुरक्षा भत्ता लिन कठिनाई हुने भन्दै जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ५ ले शनिबार वडामै भत्ता वितराण गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि वडाबासि उत्साहित भएका छन् । शनिबार दिउँसो मधुटारस्थित वडा कार्यालयमा भत्ता लिन आउनुभएका सिलामेकि ११३ वर्षियसुन माया लोले वडाबाटै भत्ता पाउँदा खुशी व्यक्त गर्नुभयो । ‘बैंकमा भिडभाड हुन्छ । ज्येष्ठ नागरिक भनेर बैंकमा पनि पालो त छिट्टै आउँछ तर हुलमुलमा आफू पछि परिन्छ ।’, उहाँले भन्नुभयो, ‘स्थानिय सरकार भनेको त गज्जबकै हुँदो रहेछ । बुढाबुढिको समस्या बुझिदिएकोमा वडाध्यक्षसहित कर्मचारीलाई धन्यवाद ।’ त्यस्तै, पुलचोकबाट भत्ता लिन आउनुभएका पूर्ण अशक्क्त अपांग विशाल थिङले वडाबाटै सेवा पाउँदा हर्षित देखिनुहुन्थयो । भत्ता हातमा लिदैँ उहाँले भन्नुभयो, ‘घर र बैंकसम्मको दुरि त टाढा छैन । तर, वडाबाटै भत्ता वितरण भएपछि धेरै सजिलो भयो ।’

शुक्रबार कमलामाई नगरपालिकाको वडा नम्बर ५ ले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा दुई सय ४९ जना लाभग्राहिलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव उज्जवल विक्रम थापाले बताउनुभयो । बैंकका कर्मचारी, नगरप्रहरी, एम.आई.एस अपरेटर लगायत वडाका कर्मचारीको सहयोग र साझेदारिमा २४ लाख ३२ हजार ७५० रुपैँया वितरण गरिएको थापाले बताउनुभयो । साथै, भत्ता लिन छुटेका लाभग्राहिले बैंंकबाटै लिन थापाले अनुरोध गर्नुभयो ।

वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर खड्काले स्थानिय सरकार नागरिकको नजिकको सरकार भएकाले उनीहरुको समस्या बुझ्नुपर्ने दायित्व जनप्रतिनिधिको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य समयमा बैंकबाटै वडाबासिले भत्ता लिने गर्नुभएको थियो । तर, दशैँको समयमा बैंकमा भिडभाड हुँदा ज्येष्ठ नागरिक र अपांगलाई कठिनाई हुने भएकाले बैंकको सहकार्यमा वडाबाटै भत्ता वितरण गरेका हौँ ।’ भत्ता वितरणमा राष्ट्रिय वाणिज्य बैंक, कमलामाई नगरपालिका लगायत कर्मचारीहरुलाई वडाध्यक्ष खड्काले धन्यवाद व्यक्त गर्नुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया