बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली चिनाउने चित्र बनाउने खेमबहादुरको रहर

शुक्रवार , आश्विन २६, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ७ डाँडाटोलका खेम बहादुर पाल्पाली ललितकला क्याम्पसमा फाईन आर्टस् (पेन्टिङ) मा स्नातकोत्तर गर्दै हुनुहुन्छ । रंगका डिब्बा, क्यानभास र ब्रस बोकेर कहिले गडौलीका किनार, कहिले लब्दाहा र गौमतीका डिलतिर त कहिले गढीडाँडा र चुरेका फेदीतिर चित्र कोर्दै हिँड्ने पाल्पालीलाई जिल्लाका खाली भित्तामा सिन्धुली चिनाउने चित्र बनाउने रहर छ । केहि महिनादेखि विपी राजमार्गका भित्तामा सिन्धुली चिनाउने चित्र बनाउने अभियानकालागि सक्रिय भएर उहाँ लाग्दै आउनुुभएको छ । लेउ लागेर कुरूप हुने जिल्लाको कमलामाई नगरपालिका २ स्थित सेल्फिडाँडाको अजंगको भित्तालाई रंगाउन उहाँ स्थानिय सरकारदेखि दातृ संघ, संस्थासँग गुहार मागिरहनुभएको छ ।

‘मूरल आर्ट’ वा भित्ते चित्रले एक विशेष सभ्यताका मानिसहरुका गतिविधिहरु चित्रण गर्दछ । ढुंगे युगमा गुफाका भित्तामा मनिसहरुले आफ्नो पदचाप पछ्याउनका लागि केही न केही आकृतिहरु कुद्ने गर्दथे । आजको दिनसम्म आइपुग्दा सडक तथा ठूला भवनका भित्तामा कुदिने कलाले ठूलो फड्को मारिसकेको छ । चित्रकार पाल्पाली भने विपी राजमार्गमा रहेको सेल्फिडाँडामा पर्यटकलाई आकर्षित गर्न ऐतिहासिक स्थल, कृषि पर्यटन र सडक सुरक्षाको विषयवस्तु समेटेर चित्र बनाउन कम्मर कसेर लागिरहनुभएको छ । उहाँ ब्रस, रंग र क्यानभासको भाषा, भावना र भद्रतालाई बुझाउन स्थानिय सरकारदेखि दाताकोमा चहारिरहनुभएको छ । जबसम्म क्यानभासमा भावना उत्रीदैँन तबसम्म रंग, ब्रस र क्यानभासमा बेजोडसँग डुब्ने पाल्पाली भित्ते चित्रको महत्वका बारेमा बुझाउन केहि महिनायता सिन्धुली–काठमाडौँ दौडधुप गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्गका भित्तालाई रंगाउन सके सुनमा सुगन्ध थपिनेछ ।”

सेल्फिडाँडालाई रंगाउन कलाबारे नितान्त अलग ढंगको कार्याक्रम आज (शुक्रबार) देखि जिल्लाको सेल्फिडाँडामा ‘सिन्धुली मुरल आर्ट–२०२३’ परियोजना शुरु गर्न लागिएको पाल्पालीले बताउनुभयो । तीन दिनसम्म संचालन हुने उक्त कार्यक्रममा सेल्फि डाँडाको भित्तालाई चित्रको माध्यमबाट कसरी आकर्षित बनाउने, कस्ता विषयवस्तु समेट्ने भनेर छलफल हुने पाल्पाली बताउनुहुन्छ । सेल्फिडाँडामा चित्र कोर्ने अभियानमा पर्वतबाट प्रज्वल सुवेदी, काठमाडौँबाट सबिन आचार्य र नवलपरासिबाट सुजिता चौधरीलेपनि सहभागित जनाउने पाल्पालीले बताउनुभयो । उहाँले भन्नुभयो, “सेल्फिडाँडामा चित्र बनाउन एभरेष्ट कलर्स प्रा.लिले रंग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै, कन्सकार कलर कलेक्सनले ब्रस र आवश्यक सामाग्री उपलब्ध गराउनेछ । हामीसँग अन्य संघ संस्थाले सहकार्य गर्नेमा अपेक्षा गरेका छौँ ।”

चित्रहरू हरेक वर्गका मानिसहरूको पहुँचसम्म पुग्दैन । सडकमा हरेक वर्गका मानिसको आगमन हुन्छ । सडकसँग मानिसको दुःख सुख सबै जोडिएको हुन्छ । सडकमा महल देखि झुपडीमा बस्ने पनि त्यसैले आफूले सडक रोजेको पाल्पाली बताउनुहुन्छ । संघीय संसद भवनबाहिरको भित्तामा चित्र बनाउने अभियानमा पाल्पालीपनि सहभागि हुनुहुन्थ्यो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनिमा सहभागित जनाउनुभएको छ ।

पाल्पालीकोे स्वप्निल केहि योजना छन् । स्कुलमा चित्रकला सिकाउने, सानोतिनो व्यवसाय चलाउने । त्यसै क्रममा उहाँ बालबालिकालाई चित्र सिकाउने देखि लेउ लागेका भित्तामा चित्र बनाउने केहि योजना बनाएर वडा र नगरपालिकातिर सहयोगको फाइल अघि बढाइरहनुभएको छ । ठ्याक्कै तस्वीर उतार्ने उहाँको कला लाजबाब छ । हाल उहाँ ललितकला क्याम्पसमा फाईन आर्टस् (पेन्टिङ) मा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया