सिन्धुली– लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौँमा गोली चलाउदा सिन्धुलीका एक युवा घाइते भएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाउँदा सिन्धुलीको कमलामाई नगरपालिका २ का ३६ वर्षीय अमर घलान घाइते भएका छन् । उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ । उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
तीन वटा मोटरसाइकल चढेर आएका लुटेरा समूहलाई प्रहरीले पिछा गरेर गोली प्रहार गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको हो । ‘लुटेराहरू लुट्न आउँदैछ भन्ने सूचना पाएका थियौँ । सोअनुसार प्रहरी टोली पुगेको थियो,’ उहाँले भन्नुभयो, ‘प्रहरीलाई देखेर उनीहरूले पेस्तोल ताकेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएका हौँ ।’
प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा प्रहरीको नियन्त्रणमै छन् । उनीहरूबाट एउटा सनासो, ९ एमएमको एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ । उनीहरूले के लुट्न लागेका थिए भन्ने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट फरार रहेका केही ब्यक्तिलाई प्रहरीले खोजी रहेको छ । लुटेरा समूहको साथबाट प्रहरीले एक थान सनासो बरामद गरेको छ ।