सिन्धुली– प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले संचालन गरेको झण्डै एक दर्जन योजना समयमै सम्पन्न हुन नसकेको तथ्यांकले देखाएको छ । कार्यालय अन्तर्गत केन्द्र र प्रदेश सरकारको लगानीमा निर्माणकालागि सम्झौता भएका जिल्लाका झण्डै एक दर्जन सडक र पुल निर्धारित समयमा सम्पन्न हुन नसकेको हो ।
संघ सशर्त अनुदान अन्तर्गत जिल्लामा तीनवटा आयोजना निर्माणाधिन अवस्थामा रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा ती आयोजनाहरुको वित्तीय प्रगति ९९.०२ प्रतिशत भएपनि भौतिक प्रगति भने जम्मा ५२.४७ प्रतिशत मात्र रहेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर र सर्लाहीको हरिवन जोड्ने क्यान खोला पुल निर्माणकालागि प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले रसुवा–ईलाईट जेभी, कपन, काठमाडौँसँग आठ करोड ३३ लाख ४३ हजारमा २०७७ को असार २९ गते नै सम्झौता गरेको थियो । तर, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि डिपिआर परिवर्तन गरि २०७९ माघ २४ गते प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले पुलको शिलान्यास गर्नुभएको थियो । २०८० असार २२ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने उक्त पुलको भौतिक प्रगति २० प्रतिशतमात्र भएको छ भने वित्तीय प्रगति ३३.९० प्रतिशत रहेको छ । त्यसैगरि, सुनकोशी गाउँपालिका वडा नं. ६ बाट अमारे गौखर्क जोड्ने आरुबोटे खोलामा पक्की पुल निर्माणकालागि २०७९ वैशाख ८ गतेनै सम्झौता भएपनि एक वर्ष बढि बितिसक्दा कुनै काम शुरु भएको छैन । २०८० वैशाख ७ गतेसम्म सम्पन्न भइसक्नुपर्ने उक्त पुलकालागि ४० लाख विनियोजन भइसकेपनि भौतिक प्रगति शुन्य रहेको छ । उक्त पुलको डिपिआर गलत भएकाले पुनः डिपिआर बनाएर काम अघि बढाइएको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देव नारायण यादवले बताउनुभयो । उक्त पुल निर्माणकालगि एक करोड ९३ लाख ३१ हजारमा ठेकेदार कम्पनिसँग सम्झौता गरिएको छ ।
त्यस्तै, दुधौलीस्थित फेदी कुमराहा खोला पुल निर्माणकालागि २०७९ असार २७ गते दुई करोड ७४ लाख ५४ लाखमा सम्झौता भएपनि निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेको छैन । २०८० असार २६ गतेनै सम्पन्न गरिसक्नुपर्ने उक्त पुलको २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
त्यसैगरि, बहुवर्षिय प्रादेशिक सडक अन्तर्गत जिल्लामा कालोपत्रे र ग्राबेलका पाँच योजना समयमै सम्पन्न हुन सकेको छैन । इमानुयल निर्माण सेवाले निर्माण गरिरहेको लुंगेलीटार दुम्क थाक्ले बाँसकटेरी सडकमा बाटो विवाद र ठेकेदार कम्पनिको लापर्वाहीका कारण समयमै योजना सम्पन्न नसकिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । ४.७० किलोमिटर उक्त सडक २०७९ असोज २२ गतेनै सम्पन्न गनुपर्ने सम्झौता भएपनि हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । उक्त निर्माण कम्पनिलाई कार्वाहको प्रक्रिया अघि बढाइएको प्रमखु यादवले जानकारी दिनुभयो । त्यसैगरि, २.२ किलोमिटर नांगी मतनवास चालिंगे वन्दिपुर डाँगी काफ्ले चौर सडक ग्राबेलिङ ३५ प्रतिशतमात्र सम्पन्न भएको छ । २०८० असार ६ गतेनै सम्पन्न हुनुपर्ने उक्त योजनाकालागि दुई करोड रुपैँया विनियोजन भइसकेको छ ।
प्रदेशिक सडक डिभिज कार्यालय सिन्धुली मातहतका योजनाहरु बजेटको अभाव, डिपिआरमा समस्या लगायत ठेकेदार कम्पनिको लापर्वाहीले समयमै सम्पन्न हुन नसकेको प्रमुख यादवले बताउनुभयो ।
निर्धारित समयै पनि सम्पन्न भएका छन् दर्जनौँ योजना
तीनपाटन १ स्थित लंगुरखोला सडक पुल दुुुुुुुुुुई वर्षमै सम्पन्न भएको प्रमुख यादवले बताउनुभयो । जिल्लाको बौला खोला पक्की पुल, कमलामाई ९ र १० जोड्ने कमला नदिको पुल, सिन्धुलीमाढी भिमस्थान चकमके उदयपुर कटारी सडक लगायत आधि दर्जन योजना समयमै सम्पन्न भएको यादवले जानकारी दिनुभयो ।
प्रोदशिक सडक डिभिज कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०९/८० मा १८ किलोमिटर नयाँ ट्रयाक निर्माण गरेको छ । त्यस्तै, झण्डै ११ किलोमिटर ग्रामेलिङ, ७.८ किलोमिटर कालोपत्रे र ३.६ किलोमिटर ढलान गरिएको यादवले बताउनुभयो ।