सिन्धुली– सिन्धुलीको एक विद्यालयमा विद्यार्थीले लगाएको ताला दुई दिन बित्दा समेत खुल्न सकेको छैन । जिल्लाको तीनपाटन गाउँपालिका ३ स्थित कोटगाउँमा रहेको पाटनदेवि माध्यमिक विद्यालयमा सोमबार विद्यार्थीले लगाएको ताला दुई दिन बित्दा समेत खुल्न नसकेको हो ।
सोमबारदेखि शुरु भएको प्रथम त्रैमासिक परिक्षामा प्रश्नपत्र निर्धारित समयमा नपाएपछि तालाबन्दी गरिएको एक विद्यार्थीले बताएका छन् । शिक्षक शुक्र बहादुर तामाङलाई प्रधानाध्यापकबाट हटाएर नयाँ प्रधानाध्यापक नियुक्ति गरेको र कम्युटर शिक्षक मनोज कुमारलाई समेत बर्खास्त गरेको हुँदा विद्यार्थीले तालाबन्दी गरेको ती विद्यार्थीले बताए । उनले भने, “कम्युटर अपरेटेर नहुँदा प्रश्नपत्रपनि निर्धारित समयमा नपाएपछि हामीले तालाबन्दि गरेका हौँ ।” गाउँपालिकाको अध्यक्ष कर्णबहादुर थापा मगर र वडाध्यक्ष लाल बहादुर स्याङतानले राजनीतिक प्रतिशोध साँधेर प्रधानाध्यापक र कम्युटर शिक्षकलाई बर्खास्त गरेको ती विद्यार्थीले आरोप लगाए ।
यता, ३ नम्बर वडाका अध्यक्ष लाल बहादुर स्याङतानले भने प्रधानाध्यपक तामाङलाई बर्खास्त नगरेको बरु आफैँले राजीनामा बुझाएको बताउनुभयो । “तामाङले गत असोज ७ गते घरायसी समस्या देखाउदैँ राजीनामा पत्र विद्यालय व्यवस्थापन समितिलाई बुझाउनुभएको थियो । हामीले राजीनामा स्वीकृत पनि गरेको हौँ,” वडाध्यक्ष स्याङतानले भन्नुभयो, “असोज ११ गते विद्यालय प्रशासनमा आएर राजीनामाको सबै कागजात उहाँले नै नष्ट गर्नुभयो ।” विद्यालय प्रशासनमा रहेको कागजात च्यातेर नष्ट पारेको हुँदा राजीनामाको कागजात आफूहरुसँग नरहेको वडाध्यक्ष स्याङतानले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको कार्यालयमा पुगेर तामाङले राजीनामा दिएको मौखिक रुपमा स्विकार्नु भएको छ ।” ताला खोल्न आफू गम्भिर रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको अध्यक्ष कर्णबहादुर थापा मगरसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।