बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सवारी चालकको रक्तचाप र आँखा परीक्षण

बुधवार , आश्विन २४, २०८०

सिन्धुली – विपी राजमार्गमा गुड्ने सवारीसाधनका चालकहरुको सिन्धुलीमा स्वास्थ्य परिक्षण गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा जिल्लाको दुई ठाउँमा रक्तचाप र आँखा परीक्षणको व्यवस्था गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले कमलामाई नगरपालिका ६ स्थित शिवनगर चेकपोष्ट र गोलन्जोर गाउँपालिका ७ स्थित खुर्कोट चेकपोष्टमा नेपाल रेडक्रस सोसाईटी, आँखा अस्पताल, कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाको समन्वयमा सवारीचालकको स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।

प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सवारी चालकहरुलाई रक्तचाप र आँखा परीक्षण गर्ने कार्यक्रम रहेको डिएसपि दाहालले बताउनुभयो । नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाडहरु नजिकिदै गर्दा सार्वजनिक यातायातका चालकहरुले आराम गर्न नपाउने भएकोले उनीहरुको आँखा र रक्तचाप चेक गरिएको डिएसपी दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “दशैँ आउन केहि दिनमात्र बाँकी रहदा काठमाडौँबाट गृह जिल्ला फर्किनेको संख्या अन्य समयमा भन्दा बढि हुन्छ । यात्रु ओसार्नमै व्यस्त हुने चालकले आराम गर्ने समयपनि पाएका हुदैँनन् । त्यसैले, उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर जानकारी दिनपनि सचेतनामुलक कार्यक्रम संचालन गरेका हौँ ।” चालकहरुलाई आराम गरेर मात्रै गाडी चलाउन सुझाव दिएको डिएसपि दाहालले बताउनुभयो । मंगलबार चार सय १५ जना सवारी चालकको रक्तचाप र आँखा परीक्षण गरीएको डिएसपि दाहालले जानकारी दिनुभयो ।

तीन स्थानमा यात्रु सहायता कक्ष :

जिल्ला प्रहरी कर्याालय सिन्धुलीले जिल्लाभित्र विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै कमलामाई नगरपालिका ६ स्थित सिन्धुली बसपार्क, गोलन्जोर गाउँपालिका ७ स्थित खुर्कोट बजार र दुधौली नगरपालिका ५ स्थित डकाहा बजारमा सहायता कक्ष शुरु भएको छ । चाडपर्वको समयमा यात्रुको चाप बढी हुने भएकाले यस्तो समयमा यात्रुलाई पर्न सक्ने असुबिधा तथा असरलाई सहजीकरण गर्न सहायता कक्ष सन्चालन गरिएको डिएसपि दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ, तिहार जस्ता चाडपर्वमा यात्रु ठगिने क्रम बढी हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले छठ पर्वसम्मका लागि यात्रु सहायता कक्ष सन्चालन गरिएको हो । ती सहायता कक्षहरुबाट ट्राफिक प्रहरी तथा जनपथ प्रहरीले २४ सै घण्टा सेवा दिइने जनाइएको छ । यात्रुहरुले आफुलाई यात्रा गर्दा असहज महसुस भएमा, समस्या परे वा ठगिएको आभास भएमा सहायता कक्षको प्रहरीलाई तत्काल खबर गर्न डिएसपि दाहालले बताउनुभयो ।

प्रतिक्रिया