बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

अख्तियारद्वारा सिन्धुलीका वडाध्यक्ष र इन्जिनियरसँग कागजात माग

मंगलवार , आश्विन २३, २०८०

सिन्धुली– बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सिन्धुलीका एक वडाध्यक्ष र प्राविधिक इन्जिनियरसँग राय प्रतिक्रिया सहित आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरेको छ । आयोगको बर्दिबासस्थित कार्यालयले सिन्धुलीको गोलन्जोर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, सिन्धुलीलाई  पत्राचार गर्दै वडा नम्बर २ का अध्यक्ष दौलत कार्की र प्राविधिक इन्जिनियर धन बहादुर खत्रीसँग विविध कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

वडाध्यक्ष कार्की तथा प्राविधिक ईन्जिनियर खत्रीको मिलेमतोमा भुकम्पले भत्काएको घरको पुनः निर्माणनै नगरी रकम निकाशा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बर्दिबासमा उजुरी परेको थियो । उक्त उजुरी उपर प्रक्रिया अघि बढाउदैँ अख्तियारले वास्तविकता के हो ?, राय प्रतिक्रिया सहित उजुरीमा उठान भएका मानिसहरुको नाममा कति किस्ता रकम निकासा भइसकेको छ ?, विवरण सहित निजहरु छनौट भई सिफारिश भएको कागजातहरुको प्रमाणित प्रतिलिपी तथा दोश्रो तथा अन्तिम किस्ता निकासा भइसकेको भए सो सँग सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपी र निर्माण भएको घरको रंगिन फोटाहरु समेत स्पष्ट रुपमा बुझिने गरी उपलब्ध गराउन आग्रह रेको छ । माग गरिएको कागजात छुट्टाछुट्टै रुपमा पत्र प्राप्त भएको मितिले १५ दिन भित्र अख्तियार कार्यालयमा उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ ।

गोलन्जोर गाउँपालिकाको वडा नम्बर २ बस्ने यम बहादुर कार्की, पुरुष बहादुर नेपाली, मीन बहादुर नेपाली, दान बहादुर राना, देव बहादुर आलेमगर, भोज बहादुर श्रेष्ठ तथा रितिक बहादुर हमालको घरहरु २०७२ सालमा आएको भुकम्पमा परी क्षतिग्रस्त भई नेपाल सरकारको प्राविधिक टोलीबाट बनाउन सिफारिश भएको थियो । सातैजना भुकम्प पिडितले घर पुनःर्निमाणको लागी पहिलो किस्ताको रकम प्राप्त गरिसकेका र कुनै घर संरचनाहरु निर्माण नगरी वडा अध्यक्ष कार्कीको ठाडो निर्देशनमा दोश्रो तथा अन्तिम किस्ताको रकम निकासा गराएको हुँदा मिलेमतो गरी घर निर्माण नगरी रकम झिकी खाने व्यक्तिहरु, वडाध्यक्ष कार्की तथा प्राविधिक ईन्जिनियर समेतलाई कारवाही गरिपाँउ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरी दर्ता भएको थियो ।

प्रतिक्रिया