सिन्धुली– नेपाली कला र संस्कृतिको संरक्षण अभियानमा खटिदैँ आएको सिन्धुली कला घरको टोली शनिबार नेपाल फर्किएको छ । एक साताको हङकङ बसाईपछि सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित चपौलीमा रहेको सिन्धुली कला घरको टोली स्वदेश फर्किएको हो । ब्रिटिस गोर्खा भुतपुर्व संघ हङकङले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा सहभागि हुन पुगेका कलाघरको टोलीलाई प्रवासी नेपालीले उच्च सम्मान गरेको छ । नेपाली मौलिक कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्न कला घरले खेलेको भुमिकालाई हङकङमा रहेका नेपालीहरुले सम्मान गरेका हुन् ।
नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व हुन्छ । त्यस्ता साईतहरूमा मंगल धुन बजाएर उक्त साईतलाई शुभ बनाउने चलन छ । मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । अहिले देश, विदेशमा हुने सांस्कृतिक कार्यक्रमको साईतलाई शुभ बनाउन कलाघरको टोलीलाई निमन्त्रणा आउने गरेको छ । परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने गर्दथे । दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बजाउदैँ गरेका विभिन्न समुदायका पुरुष र महिलालाई देखेर दर्शक रोमाञ्चीत हुने गरेको कलाघरका अध्यक्ष सुमन मगर बताउनुहुन्छ । नेपाली जो कोहीको पनि मन छुने पञ्चेबाजा अहिले लोप हुन थालेको छ । तर, सिन्धुली कलाघरले नेपालका परम्परागत बाजा लोप हुन नदिनकालागि ब्यबसायिक रुपमै अघि बढिरहेको छ । आधुनिक ब्याण्ड बाजासँग प्रतिस्पर्धा गर्न मुश्किलनै भएपनि कलाघरले निरन्तर नेपाली संस्कृति झल्किने पञ्चेबाजालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको हो । कलाघरका अध्यक्ष मगर भन्नुहुन्छ, ‘पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बाजाको छुट्टै स्थान छ ।’
नेपाली मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्ने सोचका साथ अघि बढेको सिन्धुलीकला घरको टोलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाईरहेको छ । विभिन्न प्रतिस्पर्धामा समेत सहभागि हुने कलाघरको समूहले महिला पञ्चेबाजामा आठ टिमलाई जितेर प्रथम भएको थियो । महोत्सव, उत्सव, विवाह, व्रतबन्ध, धार्मिक कार्यसहितका काममा पञ्चेबाज बजाउनकालागि देश तथा विदेशबाट कलाघरलाई निमन्त्रणा आउने गरेको छ । राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तरसम्म कला घरले मौलिक संस्कृतिको प्रचारप्रसारमार गर्न सांगितिक कार्यक्रममा सहभागित जनाउदैपनि आएको छ ।
एक जमाना थियो– महिलाले बाजा बजाउनु त के छोए पनि ‘पाप’ लाग्छ भन्ने अन्धविश्वास यत्रतत्र, सर्वत्र थियो । उसबेला न महिलाले आफैं बाजा बजाउने आँट गरे न पुरुषले नै बाजा छुन तथा बजाउनमा महिलालाई सहयोग गर्न अघि सरे । अब समय उही रहेन, एकताका बाजा छुन नपाउने महिलाहरु बाजा बजाउन मात्रै होइन बाजाको संरक्षणमा समेत कम्मर कसेर लागि परेका छन् । त्यसको एउटा गतिलो उदाहरण हो, कलाघर समूह । केहीसमय यता जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनहरुमा पुरुषसँगै महिलाले नै पञ्चे बाजा बजाउने गरेका छन् । एकै पोशाकमा सजिएका पुरुषसँगै महिलाहरुले पञ्चे बाजा बजाउन थालेपछि जिल्लामा आयोजना हुने प्रायः कार्यक्रमहरुमा बाजा बजाउनको लागि कलाघरको समूहलाई नै बोलाउन थालिएको छ । जिल्लामा आउने पाहुनहरुको स्वागतमा पनि महिलाहरुले नै बाजा बजाउँदै आएका छन् ।
पछिल्लो समय आयातित बाजाले परम्परागत बाजा लोप हुन लागेको भन्दै पञ्चे बाजा संरक्षणमा लागेको कलाघरको अध्यक्ष मगरले बताउनभुयो । ‘पुराना बाजागाजा कता गए कता, सप्पै नयाँ बाजातिर मात्रै लागेको देखेपछि हामी बाजा जोगाउन कस्सिएका हौं,’ मगरले भन्नुभयो । ‘बाजा संरक्षण गरेर मात्रै भएन,’ अध्यक्ष मगरले भन्नुभयो, ‘त्यसका लागि बजाउने सीप पनि चाहिएला भनेर बाजा सिक्दै बजाउदैँ पनि गरिरहेका छौँ ।’
हङकङमा सांगितिक कार्यक्रमकालागि पुगेपछि त्यहाँका नेपालीले आफूहरुको कलालाई सम्मान गरेको मगरले बताउनुभयो । हङकङमा रहेका नेपालीहरुले नेपाल आएपछि सिन्धुलीगढीसँगै कलाघरको अवलोकन गर्ने प्रतिबद्धता जनाएको मगर बताउनुहुन्छ । कला र संस्कृतिको जगेर्ना गर्न थप प्रेरणा मिलेको मगरले बताउनुभयो ।