फोटो क्याप्सनः सिन्धुलीको सुनकोशी गाउँपालिका १ देवीस्थानमा स्थानियले निजि जग्गामा फुटपाथकालागि बनाएको गोरेटो (बाँया), कमलामाई नगरपालिका ७ स्थित शिवनगरमा सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले निर्माण गरेको फुटपाथ (दायाँ) ।
सिन्धुली – २०७२ असार १८ गते जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको विपी राजमार्गमा फुटपाथ नहुँदा बटुवाहरु असुरक्षित रुपमा हिँड्न बाध्य छन् । चार सडकखण्डमा विभाजित विपी राजमार्गको दुवै छेउमा फुटपाथ नभएका कारण बटुवाहरू तीव्र गतिमा हुँइकिने सवारीसाधन छल्दै हिँडीरहेका छन् ।
एक सय ६० किलोमिटर लम्बाई रहेको विपी राजमार्गका केहि सडकखण्डमा बाहेक अधिकांश सडकखण्डमा फुटपाथ नहुँदा बटुवाहरु डराईडराई असुरक्षित रुपमा हिँड्न बाध्य छन् । राजमार्ग आसपास घना वस्ति भएको ठाउँमा समेत फुटपाथ नहुँदा तीव्र गतिमा कुद्ने सवारीसाधन नजिकबाट जाँदा आफ्नो आङ नै सिरिंग हुने बटुवाहरुको गुनासो छ । राजमार्गनजिकै घर भएका स्थानियले दैनिक त्रसित हुँदै राजमार्गखण्डबाट हिँड्नुपर्ने गुनासो गर्छन् । जिल्लाको कमलामाई नगरपालिका ६ रातमाटाका उदय थापा बटुवा हिँड्ने पेटी नहुँदा विशेष गरेर बुढाबुढी, महिला र बालबालिकालगायत विद्यार्थीलाई पैदल हिँडन समस्या भएको बताउनुहुन्छ । यसबाहेक यो राजमार्गखण्डबाट दैनिक अनगिन्ति स्थानीय हिँड्ने थापाले बताउनुभयो ।
राजमार्ग आसपासका वस्तिमा दुर्घटनाको जोखिम बढेपछि स्थानिय आफैँले वैकल्पिक उपाय खोजेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका १ नम्बर वडास्थित देवीस्थानका स्थानियले फुटपाथकालागि निजि जग्गामा गोरेटो खनेका छन् । सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले फुटपाथ निर्माण गर्ने छाँटकाँट नदेखाएपछि निजि जग्गामा पैदलयात्रीलाई हिँड्न गोरेटो खनेको स्थानियले बताएका छन् । स्थानिय चन्द्रकला ठकुरीले भन्नुभयो, “यस सडकखण्डमा हिँड्दा बालबालिका र विद्यार्थीलाई सम्झेर सधैँ मनमा डर अनि पिर लाग्थ्यो, जग्गादातालाई नमन गर्दछु ।”
विपी राजमार्गले सिन्धुलीको कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकालाई छोएको छ । राजमार्गले छोएको कमलामाई नगरपालिका अन्तर्गत वडा नम्बर ९ स्थित भिमान बजार, वडा नम्बर ७ स्थित शिवनगर, वडा नम्बर ६ स्थित शान्तिनगर, रातमाटा, वडा नम्बर ४ स्थित ढुंग्रेबास, वडा नम्बर २ स्थित चियाबारी , गोलन्जोर गाउँपालिका ७ अन्तर्गत खुर्कोट, सुनकोशी गाउँपालिका ३ स्थित बोहोरेटार, वडा नम्बर ५ स्थित मुलकोटलगायतका ठाउँमा आवासिय घनत्व बढ्दो छ । तर, सुविधाजनक फुटपाथ नहुँदा स्थानियले दैनिक ज्यानको बाजि राखेर राजमार्गखण्डमा हिँड्न बाध्य छन् ।
दुई हजार तीन सय मिटर मात्रै फुटपाथ निर्माण हुने
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सडक खण्डमा दुई हजार तीन सय मिटर फुटपाथ निर्माण हुने सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । बर्दिबासदेखि सिन्धुलीबजारको ३७ किलोमिटरसम्म केहि स्थानमा फुटपाथ निर्माण गरिरहेको आयोजनाका इन्जिनियर माधव पौडेलले बताउनुभयो । त्यसैगरि, सिन्धुलीबजारदेखि खुर्कोट सडकखण्डको ३९ किलोमिटर, खुर्कोटदेखि नेपालथोक सडकखण्ड अन्तर्गत ३२ किलोमिटरमा फुटपाथ निर्माणको प्रक्रिया अघि बढेको पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पैदलयात्रीको चहलपहल हुने ठाउँहरुमा फुटपाथ निर्माण हुन्छ । वस्ति भएका ठाउँलाई प्राथमिकतामा राखेर काम अघि बढ्ने छ ।
वीपी राजमार्गको सडक सुरक्षा कार्यक्रम अनर्तगत बर्दिबास, सिधुली र बनेपासम्ममा फुटपाथ निर्माण लगायत सडक सुरक्षाको लागि ९ करोड ६० लाख बजेट विनियोजन भएको आयोजनाका प्राविधिक रमेश आचार्यले जानकारी दिनुभयो ।