बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

जिल्ला प्रशासन सिन्धुलीको कार्यसम्पादन उत्साहजनक

शुक्रवार , आश्विन १९, २०८०

सिन्धुली– गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुली ‘अति उत्कृष्ट’ ठहरिएको छ । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै सिन्धुली जिल्ला प्रशासन अति उत्कृष्टको सूचिमा परेको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा देशभरका ३३ वटा जिल्ला प्रशासन कार्यालय अति उत्कृष्टको सूचिमा परेको छ । ९०.३१ प्रतिशत अंक प्राप्त गरेको सिन्धुली जिल्ला प्रशासन अति उत्कृष्ट सूचिको पुछारमा छ । आर्थिक वर्ष २०७९÷ ०८० को कार्यसम्पादनमा सिन्धुली ३३ औँ स्थानमा छ ।

कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा ९०.३१ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय सिन्धुली अति उत्कृष्ट भएको हो । त्यसैगरी, ३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।

सिन्धुलीको कार्यसम्पादन मूल्यांकनमा सुधार

आर्थिक वर्ष २०७८/०७९ मा गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट सूचिमा परेको थियो । सो आर्थिक वर्षमा सिन्धुली जिल्ला प्रशासन ५६ औँ स्थानमा रहदैँ उत्कृष्ट सूचिमा परेको थियो । आर्थिक वर्ष २०७९/०८० मा भने सिन्धुली प्रशासन ३३ औँ स्थानमा रहदै अति उत्कृष्ट सूचिमा परेको छ । गत आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकनको अवधिमा जिल्लामा रमेश न्यौपाने र सुनिता नेपाल प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । न्यौपाने सरुवा भएछि विगत आठ महिना देखि सह–सचिव सुनिता सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।

सिडिओ नेपालको कुशल कार्यसम्पादन र प्रभावकारी भूमिका

४७ औँ प्रमुख जिल्ला अधिकारीको रूपमा गत माघ १६ गतेदेखि सिन्धुलीमा कार्यभार सम्हानुभएकि सुनिता नेपालले कुशल कार्यसम्पादन र प्रभावकारी भूमिका निभाउनुभएको छ । नेपालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेसँगै पहिलो पटक जिल्ला प्रशासन सिन्धुलीको नेतृत्व महिलाले पाएको हो । काठमाडौँको अमर राजन विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएकि नेपालले हिमालय विद्या मन्दिरबाट ०४७ सालमा एसएलसी पास गर्नुभएको हो हो । नेपाल कमर्स क्याम्पस मीन भवनबाट एमबिएसम्मको अध्ययन पुरा गर्नुभएको नेपालले एक वर्षे बि.एड समेत अध्ययन गर्नुभएको छ । नेपालले जागिर खाने क्रममै ०६३ सालमा छात्रवृत्ति मार्फत कोरियाबाट ‘कोअपरेटिभ डेभलप्मेन्ट’ मा स्नातकोत्तर समेत गर्नुभएको छ । ०६१ सालमा उहाँले अधिकृतमा नाम निकाल्नुभएको थियो । ९ वर्ष लामो अनुभव बटुलेर ०७० सालमा खुल्ला प्रतिस्पर्धाबाट नेपालले उपसचिवमा नाम निकाल्नुभयो । ०७७ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उहाँ सहसचिवमा नियुक्ति हुनुभयो । सहसचिव भएपछि उहाँ प्युठानको प्रमुख जिल्ला अधिकारी हुनुभयो । प्युठानपछि सिन्धुलीको सिडिओको जिम्मेवारीमा रहेर नेपालले काम गर्दै हुनुहुन्छ ।

सह सचिव स्तरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेपाललाई प्युठानको प्रमुख रहदा नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो ।

प्रतिक्रिया