सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिकाका भूमिहिन दलित, भूमिहिन सूकुम्बासीहरुलाई पहिलो पटक जग्गा धनी प्रमाणपत्र वितरण गरिएको छ । कमलामाई नगरपालिकाद्धारा आयोजित कार्यक्रममा नगरपालिका वडा नम्बर ७ का ८ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेल, राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहिन्द्र बहादुर खड्का, वडा नं. ७ का अध्यक्ष कर्ण बहादुर घिसिङले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
कार्यक्रममा ६ जना भूमिहिन दलित तथा २ जना भूमिहिन सुकुम्वासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिनुका साथै ३ सय २२ जना अव्यवस्थित बसोवासीलाई अस्थाई नापनक्सा निस्सा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गदै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले पालिकाले सवै वडामा जग्गा धनी प्रमाणपत्र वितरणका लागि पहल गर्ने बताउँनुभयो । साथै, उहाँले अब तिहार पछि अर्को वडामा वितरण गर्ने योजना रहेको बताउनु भयो ।
राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहिन्द्र बहादुर खड्काले विगतको कामकार्वाही भन्दा अहिलेको काम कार्वाही फरक रहेको हुदा सवैको सहयोग पाएमा लालपूर्जा वितरणमा कुनै कसर बाँकी नरहने वताउनु भयो ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भूमि अयोगले यस जिल्लामा प्राप्त गरिरहेको सफलतामा वृद्धि गराउन आयोगको अवधिलाई थपी लैजानुपर्ने धारणा राख्नु भयो ।
वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङले आफ्नो वडाबाट सुरु भएको लालपूर्जा वितरण कार्य अन्य वडामा पनि छिटै वितरण हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय भूमि आयोगका सिन्धुली जिल्ला अध्यक्ष वावुराम राइले सिन्धुली जिल्लाका सबै पालिकाहरुले सहयोग गरेमा सबै भुमिहिन दलित, भुमिहिन सुकुम्बासीहरु, अव्यवस्थित बसोवासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्न सकिने बताउनुभयो ।