सिन्धुली – उपभोक्तामाथि ठगी गरेको पाइएपछि मरिण गाउँपालिका ६ धमिलेमा रहेको सिद्धि विनायक खाद्यान्न किराना सप्लायर्सलाई दुई लाख ५० हजार जरिवाना गरेकोछ । बुधबार जिल्ला स्तरीय संयुक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा सिद्धि विनायक खाद्यान्न किराना सप्लायर्स चामल रिप्याकिङ्ग गरी बिक्री गरेको पाइएपछि जरिवाना गरिएको घरेलु कार्यालय सिन्धुलीका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनु भयो ।
लेवलिङ नभएको सोनामन्सुली लेखिएको चामललाई सप्लायर्सले इन्डिया नम्बर वान प्रिमियम राइस लेखिएको बोरामा प्याक गरि बजारमा बिक्री गर्ने गरेको पाइएपछि २ लाख ५० हजार रुपैंया जरिवाना गरिएको श्रेष्ठले बताउनुभयोे ।
घरेलु कार्यालय सिन्धुलीका प्रमुख प्रवीण श्रेष्ठले चामलमा लेबल स्पष्ट नभएकाले ३२९ बोरा चामल सप्लार्यसले फिर्ता गर्ने र चामल रिप्याक गरेर बेच्ने तयारी गरेर राखेको पाइएकाले उक्त बोरा जफत गरिएको बताउनुभयो ।

सप्लायर्सले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ को को दफा ६० (ज) अनुसार कसुर गरेको पाइएकोले सोही ऐनको दफा ६१ उपदफा १ (घ) २ बमोजिम दुई लाख पचास हजार जरिवाना गरिएको बताउनुभयो । अनुगमन टोलीले लेबल नभएको चामल फिर्ता गरी मरिण गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।
सप्लायर्समा असोज १४ गते मरिण गाउँपालिकाले गरेको अनुगमनमा अवैद्य ढंगले चामल बिक्री भएको भेटेपछि सप्लायर्सको गोदाम सिल गरेको मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीले जानकारी दिनुभयो । गोदाम सिल गरेको पछि जिल्ला स्तरीय संयुक्त बजार अनुगमन टोलीलाई जानकारी गराएको उहाँले बताउनुभयो । बुधबार संयुक्त टोलीले सप्लायर्सको गोदाममा गाउँपालिकाले लगाएको सिल खोली परिक्षण गर्दा चामल पुनः प्याक गरेको भेटेपछि कारबाही गरेको हो ।
यसै गरी अनुगमनका क्रममा समृद्धि ट्रेडर्स नामक पसलमा लेबल नभएको २४ बोरा चामल भेटिएकोले उक्त चामल सम्बन्धित सप्लायर्स लाई फिर्ता गरी सोको जानकारी मरिण गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालयलाई जानकारी गराउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । खरिद विल नभएकोले पन्ध्र हजार जरिवाना गरिएको छ ।
यसैगरी हरिहरपुरगढि गाउँपालिका ४ मा सञ्चालित माझगाउँ जे.भि.एस. पोलिक्लिनिक इजाजत पत्र नलिई तथा सम्बन्धित निकायमा दर्ता नगरी संचालन गरेको पाइएकोले पसल बन्द र इजाजत पत्र लिएर मात्र संचालन गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।