सिन्धुली– गत असोज ५ गते स्थानिय तह, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय लगायत सरोकारवाला निकायको प्रमुखहरुको बैठक जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बस्यो । कार्यालय प्रमुखहरुको बैठकले जिल्लामा चाडपर्व लक्षित योजनासहित विविध निर्णय गर्यो जसअनुसार जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले अनुगमनलाई तिव्रता दिएको छ । नेपाली हिन्दु धर्मावलम्वीको महान चाड दशैँ आउन केहि हप्तामात्र बाँकी रहदा जिल्लाको मुख्य बजार क्षेत्रमा अनुगमन टोली पुगेको छ ।
नजिकिदै गरेको दशैँ, तीहार, छठ लगायतका चाडपर्वहरूमा अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाउन जिल्लाका स्थानिय तह, सुरक्षा संयन्त्र लगायत नियमनकारी निकाय सक्रिय भएर लागेका छन् । बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति र बिक्री वितरणलाई सहज बनाइन राख्न पालिका स्तरबाट सरोकारवालहरूसँग समन्वय गरिएको गोलन्जोर गाउँपालिकाको उपप्रमुख ज्वाला प्रसाद न्यौपाने पुकारले बताउनुभयो । उहाँले भन्नुभयो, “कृतिम अभाव, कालोबजारी, अस्वभाविक मूल्य वृद्धि जस्ता कार्य हुन, गर्न नदिन नियामक निकायसँग छलफल गरेर अघि बढिरहेका छौँ ।” गोलन्जोरमा बजार अनुगमनकालागि आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरि, जिल्लाको मरिण गाउँपालिकाको प्रमुख विमर्श मुक्तान ‘प्रख्यात’ ले चाडपर्वमा कालोबजारी, गुणस्तरहिन सामाग्रीको विक्रिवितरण हुनेहुँदा स्थानिय सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभावकारी रुपमा बजार अनुगमन गर्न होसियार छौँ । उद्योग/व्यापारीहरुलाई अनिवार्य रूपमा उपभोक्ता मूल्य सूची राख्न अनुरोध गरेका छौँ ।”
त्यसैग्रि, चाडपर्वमा हुने लामो सार्वजनिक विदाको अवधिमा सुरक्षा व्यवस्था मिलाउन प्रहरी सचेत रहेको जिल्ला प्रहरी कर्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवी दाहालले बताउनुभयो । गैरकानूनी रुपमा सञ्चालित चिट्टा र अनलाईन सपिङको नाममा हुने अवैध कारोवार एवम् विद्युतीय माध्यमबाट हुने ठगी जस्ता क्रियाकलापप्रति सजग रहन सर्वसाधरणलाई डिएसपि दाहालले आग्रह गर्नुभयो । साथै, प्रलोभनमा पार्दै सट्टाबाजि लगायत गैरकानुनि क्रियाकलाप कोही कसैबाट भए गरेको पाइएमा तत्काल नियन्त्रण गरी कानूनको दायरामा ल्याइने दाहालले बताउनुभयो ।
चोरी तस्करी, प्राकृतिक श्रोतसाधनको अवैध दोहन जस्ता कार्यहरु हुन, गर्न नदिन जिम्मेवार निकायहरू सक्रियताका साथ कार्य गर्न प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले निर्देशन दिनुभयो । विभिन्न बहानामा लामो छोटो दुरीका भाडाका सवारी साधनहरूले वढी पैसा असुल्ने, दुव्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रुहरू बोक्ने राजमार्ग तथा सहायक रुटहरूमा भरपर्दो चेकजाँचको व्यवस्था गरिने प्रजिअ नेपालले बताउनुभयो । यातायात कार्यालय खुर्कोट र ट्राफिक प्रहरीबाट यातायात व्यवसायीहरुले यात्रुहरुको भ्रमणको प्रस्तान विन्दु र गन्तव्यको जानकारी सहितको विस्तृत विवरण अध्यावधिक गरीराख्न र सोको जानकारी नजिकको प्रहरी इकाईमा उपलब्ध गराउने व्यवस्था मिलाउन प्रजिअ नेपालले आग्रह गर्नुभयो ।
पर्वको समयमा पटका, भुईँचम्पा, आतिशवाजी जस्ता विष्फोटक तथा प्रज्वलनशी पदार्थ ओसारपसार बिक्री वितरण तथा प्रयोग नगर्ने सम्बन्धी सूचनामूलक सन्देश प्रशारण गरिने हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईबाले बताउनुभयो । चाडपर्वको आपूर्ति, व्यवस्थापन स्वास्थ्य लगायत आपतकालिन सेवाको लागि जिल्ला अस्पताल सिन्धुली र स्वास्थ्य कार्यालय सिन्धुलीले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायत साधन र जनशक्ति तयारी अवस्थामा राख्ने व्यवस्था भइरहेको जिल्ला अस्पताल सिन्धुली व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले बताउनुभयो ।
त्यस्तै, दशैँमा सवारी आवागमन सहज बनाउन डिभिजन सडक कार्यालय, प्रदेश सडक कार्यालय तथा स्थानीय तहहरूले आपनो अधिकार क्षेत्रभित्र पर्ने राजमार्ग÷सडकको आवश्यक मर्मत सुधार गर्नेछन् । सरकारी कार्यालयका सवारीसाधनहरू लामो अवधिमा शान्ति सुरक्षा सम्बन्धी काममा आवश्यक पर्न सक्ने भएकोले आ– आपना सवारी साधन, चालक (इन्धन सहित) आवश्यक पर्नासाथ उपलब्ध हुने गरी तयारी अबस्थामा राख्न निर्देशन दिइएको छ । लामो विदा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो सुरक्षाकर्मीलाई २४ सै घण्टा परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउने र नजिकको सुरक्षा इकाईसँग निरन्तर समन्वय र सम्पर्कमा रहने योजना बनाइएको छ ।
लामो विदा अवधिमा सबै सरकारी/सार्वजनिक कार्यालय संस्थानहरूले कार्यालयमा भरपर्दो पालो पहराको व्यवस्था मिलाई त्यस्तो पालो पहरामा वस्ने व्यक्तिको नामथर, पद, सम्पर्क नम्बरसहितको विवरण जिल्ला प्रहरी कार्यालय र नजिकको सुरक्षा युनिटमा उपलब्ध गराउने र कार्यालयको जिम्मेवार कर्मचारीबाट अनुगमन गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।