बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका यूवाको वैदेशिक रोजगारीमा बढ्दो आकर्षण

शुक्रवार , आश्विन १२, २०८०

सिन्धुली – गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार हरेक दिन सिन्धुलीका ३३ जना बढिले श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा गएका छन् । गत आर्थिक वर्षमा मात्रै सिन्धुलीका एक हजार १९ जना बढिले वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएका थिए । राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुलीका झण्डै ५० हजार बढि युवाहरु रोजगारीकालागि विदेशिएका छन् । उच्चा शिक्षा अध्ययनकालागि विदेशिनेको संख्यापनि बढ्दो छ । जिल्लामा श्रमसँगै उच्च शिक्षा अध्ययनकालागि विदेशिने ‘ट्रेन्ड’ नै भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सय ४१ जनाले राहदानी लिएका छन् । दुई महिनाको अवधिमा एक हजार आठ सय ४१ जनालाई विद्युतिय राहदानी (ई पासपोर्ट) र चार जनालाई एमआरपि राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, राहदानी दस्तुरवापत चालु आर्थिक वर्षमा एक करोड आठ लाख ७७ हजार पाच सय रुपैँया बढि राजश्व संकलन भएको छ । साउन महिनामा ६० लाख ४० हजार रुपैँया र भदौ महिनामा ४८ लाख ३७ हजार पाच सय रुपैँया राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीले जानकारी दिनुभयो ।

दशैँको मुखमा विदेशिन बाध्य छन् युवा

नेपाली हिन्दु धर्मावलम्वीको महान चाड विजयदशमी आउन १६ दिन बाँकी छ । दशैँ नजिकिएसँगै सिन्धुलीको बजार क्षेत्रमा चहलपहल बढेको छ । सिन्धुली बजारमा जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिन्धुलीका युवाहरुको लर्को देख्न सकिन्छ । दशैँ आउन झण्डै दुई साता बाँकी रहदा श्रमसँगै उच्च शिक्षा अध्ययनकालागि जिल्लाका युवाहरु विदेशिन बाध्य छन् । रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको जिल्लाको कमलामाई नगरपालिका २ का साजन तामाङले बताउनुभयो । रोजगारीकालागि साउदी जान लाग्नुभएका तामाङले भन्नुभयो, “दशैँले छपक्कै छोप्यो । हरेक गल्ली हरेक चोकलाई । व्यापारीदेखि जागिरे । फुटपाथे दोकानदेखि ठूल्ठूला पसललाई । जे होस्, वातावरण दशैँमय छ । तर, स्वदेशमै रोजगारी नपाएका हामीलाई दशैँले छुन सकेन ।”

वैदेशिक रोजगारीसँगै उच्च शिक्षा अध्यनकालागि विदेशिने युवाहरुको पिडापनि उस्तै छ । शिक्षासँगै रोजगारीको व्यवस्था नहुनु, क्षमता र योग्यता भन्दा नातावाद र कृपावाद हावि हुनु, राजनैतिक अवस्था लगायत विविध निराशाका कारण युवाहरु उच्चा शिक्षाकालागि विदेशिन बाध्य भएको दुधौली नगरपालिका ३ का शिव थापाले बताउनुभयो । “सिन्धुली बहुमुखि क्याम्पसमै बिबिए अध्ययन हुन्छ । तर, यूके जान बाध्य छु ,” व्यवस्थापनमा स्नातक (बिबिए) गर्न विदेशिन लाग्नुभएका थापाले भन्नुभयो, “यहाँ पढाईसँगै रोजगारीको अवसरनै छैन । राज्यको सेवा, सुविधापनि पहुँचवालाकै लागि मात्र केन्द्रित छ ।”

रोजगारीको अवसर बढाउदैँ स्थानिय सरकार

बैदेशिक विभाग बोर्डको तथ्यांक अनुसार १४ वर्षको अवधिमा बैदेशिक रोजगारमा गएका सिन्धुलीको १ सय ४४ जनाको मृत्यु भएको हो । वैदेशिक रोजगारीले जिल्लाको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा गहन असर पार्न थालेको छ । देशमा संघीयता आएसँगै स्थानिय तहले रोजगारीको अवसर बढाउनतर्फ विभिन्न कार्यक्रमहरु संचालन गरेका छन् । सिन्धुलीका स्थानिय तहले रोजगारी सिर्जना गर्न युवा स्वरोजगार कार्यक्रदेखि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै आएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाले स्वदेशमै रोजगारी सिर्जना गर्न युवा स्वरोजगार कार्यक्रम संचालनमा ल्याएको छ । नगरभित्रका बेरोजगार तथा उद्यम, व्यवसाय संचालन गर्न पुँजि आवश्यक भएका व्यवसायीहरुलाई बिना धितो, बिना ब्याज आर्थिक सहयोग गर्न युवा स्वरोजगार कार्यक्रम संचालन गरिएको पुर्व मेयर खड्ग खत्रीले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ देखि संचालनमा आएको युवा स्वरोजगार कार्यक्रमकालागि शुरुमा एक करोड बजेट विनियोजन गरिएको खत्रीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा भने नगरले दुई करोड बजेट विनियोजन गरेको खत्रीले बताउनुभयो ।

कमलामाई नगरपालिकाले संचालन गरेको युवा स्वरोजगार कार्यक्रमबाट एक सय ४७ जनाले एक लाखदेखि पाँच लाखसम्म ऋण लिएको कमलामाई नगरको उद्योग शाखाकी कर्मचारी शशि थापाले जानकारी दिनुभयो । आ.व. २०७७÷०७८ मा नगरले एक करोड ६४ लाख रुपैँया ऋण प्रवाह गरेको थापाले बताउनुभयो । सो आर्थिक वर्षमा ६३ जना युवा व्यवसायीले ऋण प्राप्त गरेको थापा बताउनुहुन्छ । त्यस्तै, आ.व. २०७८÷०७९ मा कमलामाई नगरपालिकाले ८४ जनालाई कुल एक करोड ९७ लाख रुपैँया ऋण प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्ष २०७९/०८० मा युवा स्वरोजगार कार्यक्रमकालागि एक करोड ७५ लाख रुपैँया बजेट विनियोजन गरिएको कमलामाई नगरपालिकाको प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो । बिना धितो र बिना व्याज ऋण प्राप्त गर्ने व्यवसायीहरुले २ वर्ष भित्रमा नगरलाई रकम फिर्ता गरिसक्नु पर्ने व्यवस्था रहेको पोखरेलले बताउनुभयो । पहिलो पाँच महिनासम्म उनीहरुले किस्ता फिर्ता गर्नु पर्दैन भने छैटौँ महिनादेखि हरेक महिना किस्ता तिर्दै जानुपर्ने प्रावधान रहेको छ । हालसम्म १६ जनाले मात्रै ऋण फिर्ता गरेको बताउदैँ मेयर पोखरेलले भन्नुभयो, “रकम फिर्ता गर्ने मिति पुगिसकेका व्यवसायीलाई ताकेता गरिरहेका छौँ ।”

युवा स्वरोजगार कार्यक्रम अन्तर्गत आर्थिक हैसियत मजबुत भएकालाई पनि नगरले ऋण प्रवाह गरेको भन्दै विगतमा आलोचना भएको थियो । मेयर पोखरेलले आफूले नगरको नेतृत्व सम्हालेपछि पहिलो पटक उक्त कार्यक्रम संचालन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा जसरी ऋण प्रवाह गरितापनि यस वर्ष कार्यविधि अनुसार लक्षित समूहलाई नगरले ऋण उपलब्ध गराउनेछ ।” ऋण लिन चाहनेले व्यवसायिक योजना बनाएर नगरमा पेश गर्नुपर्ने मेयर पाखरेलले बताउनुभयो । साथै, उहाँले ऋण लिनकालागि आफूलाई कतैबाट ‘सोर्सफोर्स’ लगाउने भन्दापनि आवश्यक कागजात र योजना पेश गरि विधि पु¥याएर ऋण लिन लक्षित समुहलाई आग्रह गर्नुभयो ।

त्यसैगरि, मरिण गाउँपालिकाले युवा÷युवती उद्यमशीलता विकासका लागि बैंक बाट सहुलियत ब्याजदरमा ऋण प्राप्तिका लागि सहजीकरण कार्यक्रम, सहुलियतपुर्ण कृषि कर्जा प्रवाह, नवप्रवर्तन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत युवा रोजगार लक्षित कार्यक्रम संचालन गरिरहेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले बताउनुभयो । किसान र व्यवसायीलाई सहुलियत पुर्ण ऋण उपलब्ध गराउनका लागि मरिण गाउँपालिका, तीनवटा बैंक र हेफर प्रोजेक्ट नेपाल बिच त्रिपक्षीय सम्झौता भएको अध्यक्ष प्रख्यातले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवस्थित व्यवसायीक योजना भएका किसान र व्यवसायीहरुलाई सम्झौता भएका तीनवटा बैंकहरुले ५ करोड सम्म ऋण लगानी गर्नेछ ।” त्यस्तै, नवप्रवर्तन साझेदारी कोष कार्यान्वयनको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, हेटौँडा र मरिण गाउँपालिका बिच २ करोड भन्दाबढीको उन्नत जातको भैँसी तथा वंगुरपालन कार्यक्रम कार्यान्वयनकालागि दुईपक्षिय सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय ओम बहादुर दर्जीले बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत किसानलाई भैँसि र बंगुर वितरण कार्यक्रम भइरहेको दर्जीले जानकारी दिनुभयो ।

प्रतिक्रिया