सिन्धुली, – सिन्धुलीको दुधौली नगरपालिकामा बिहिवार चाडपर्व लक्षित गरेर बजार अनुगमन सुरु गरिएको छ । सिन्धुलीका जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले दुधौली नगरपालिका क्षेत्रमा चाडपर्व लक्षित खाद्य तथा किराना पसलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा विभिन्न पसलहरुमा म्याद सकिएका खाद्य वस्तुहरु भेटिएकाले जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीले जनाएको छ । बजार अनुगमनका क्रमम विभिन्न पसलहरुबाट २६ हजार ५ सय ६ रुपैयाँको चिसो पिय पदार्थ, बियर लगाएतका खाद्य वस्तुहरु भेटिएकाले जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका प्रमुख प्रविण श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा कैफियत देखिएको वस्तुको खरिद विल / विक्री विल नभएकोले दुई वटा पसलहरुलाई १५ हजारका दरले तिस हजार रुपैयाँ जरिवाना समेत गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
अघिल्लो दिन असोज १० गते बुधवार दुधौली नगरपालिकाको अनुगमन टोलीले गरेको अनुगमनको क्रममा केही पसलहरूको गोदाममा तालाबन्दी गरेको नै गरेको थियो । दुधौली नगरपालिकाले बजार अनुगमन गर्न सहयोग माग गरेपछि जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले संयुक्त बजार अनुगमन गर्दा बिहीवार नै एउटा पसलमा अवैध १९ बोरा युरिया मल भेटिएको छ । पसलबाट यूरिया मल जफत गरी स्थानीय तहको मलखाद वितरण सम्बन्धी समितिका रोहवरमा सरकारी मुल्यमा नबढ्ने गरी सम्बन्धित किसानलाई वितरण गर्न निर्देशन दिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेश, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रशासनका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मरिण गाउँपालिका, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकाय, संचारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको सहभागितामा रहने जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलीले सिन्धुलीका मुख्य बजार क्षेत्रमा चाडपर्व लक्षित खाद्य तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता दिएको छ ।
संयुक्त बजार अनुगमनले केही दिन अघि मरिण गाउँपालिकाको मुख्य बजार र फिक्कल गाउँपालिकाको मुख्य बजार क्षेत्रमा बजार अनुगमन गरी सकेको छ । नजिकिँदै गएको दशैं, तिहार लगाएत चाडपर्वमा हुन सक्ने मुल्यवृद्धि, उपभोग्य म्याद गुज्रेका खाद्य सामाग्रीहरुको किनबेच, लेवल स्पष्ट नभएका खाद्य सामाग्रीहरुको किनबेच हुन नदिन र खाद्य वस्तुमा कृतित्र अभाव सिर्जना हुन नदिन बजार अनुगमन गर्न सुरु गरिएको जनाइएको छ । ‘ हाम्रो नियमित रुपमा हुने बजार अनुगमन जिल्लाका विभिन्न ठाउँमा निरन्तर भईरहेका छन् ।
अहिले चाडपर्वहरु पनि नजिकिँदै गएका छन् । यस्तो बेला बजारमा हुने धेरै थरीका विकृतीहरुलाई कम गर्न बजार अनुगमनलाई तिव्रता दिएका छौं ।’ उहाँले भन्नुभयो । गुनासो आएको बजारहरुमा पहिलो प्राथमिकता दिएर बजार अनुगमन गरिने र दशैं अघि सम्म जिल्लाका सबै पालिकाको मुख्य बजारहरुमा अनुगमन गरिने प्रमुख श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा अनिवार्य रुपमा मुल्यसूची सबैले देख्ने गरी राख्न, व्यवसाय दर्ता गरी मात्र संचालन गर्न, अनिवार्य रुपमा खरिद विल लिन तथा विक्री विल जारी गर्न, म्याद नाघेका सामान नबेच्न निर्देशन दिइएको प्रमुख श्रेष्ठले बताउनुभयो । त्यस्तै फर्मको उद्देश्य भन्दा बाहेक सामानहरु राखी विक्री वितरण नगर्न, थोक विक्रेतालाइ म्याद नाघेका सामानहरु राख्न छुट्टै कोठाको व्यवस्था गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो ।