बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

कमलामाईमा छाडा कुकुरलाई रेविज विरुद्ध खोप

बिहिवार , आश्विन ११, २०८०

 

सिन्धुली – कमलामाई नगरपालिकाले नगर क्षेत्रमा छाडा छोडिएका कुकुरहरुलाई रेविज रोग विरुद्ध खोप अभियान संचालन गरेको छ । विश्व रेविज दिवस २०८० को अवसरमा कमलमाई नगरपालिकाको पशु विकास शाखाको आयोजनामा ४ दिनमा ३ सय ८१ वटा छाडा छोडिएका कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाइएको छ ।

रेविज रोग उन्मुलनको लागि असोज ७ गते बाट १२ गते सम्म निःशुल्क खोप कार्यक्रम सन्चालन गरिएको कमलामाई नगरपालिका पशु विकास शाखाका डाक्टर रोशन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार बजार क्षेत्रको १ नम्बर बजार,गैरिबजार,२ नम्बर बजार,स्टल बजार,जुनार चोक,धुराबजार शान्तिनगर चोक,रातमाटा ढुंग्रेबासमा कुकुरलाई खोप दिइएको छ ।

‘एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नारा सहित कमलमाई नगरपालिकाको बजारी क्षेत्रको ५ सय देखि ७ सय कुकुरलाई रेविज बिरुद्धको निशुल्क खोप लगाउने लक्ष्य रहेका डा. कोइरालाले जानकारी दिनुभयो ।

साथै कमलामाई नगरपालिकाको १४ वटै वडामा पशु प्राविधिकलाई परिचालन गरिएको छ । नेपाल सरकारले २०३० सम्ममा रेविज रोगलाई देशबाटै उन्मुलन गर्ने लक्ष्य लिएकोले सोहि लक्ष्यलाई अबलम्बन गरेर रेबिज रोगलाई निर्मुल पार्नको निम्ति निशुल्क खोप कार्यक्रम सन्चालन गरिएको डा. कोइरालाको भनाई छ ।

सप्ताहाव्यापी रेविज बिरुद्धको खोप कार्यक्रममा कमलामाई नगरपालिकाका पशु शाखाका डा. रोशन कोइराला,अधिकृत मिन बहादुर थापा,पशु प्राविधिक लगायत २५ जनाको समुह परिचालन भएका छन् । पछिल्लो समयमा नगरका विभिन्न स्थानहरुमा कुकुरको टोकाइबाट नगरबासीहरु पीडित भएको गुनासोहरु आइरहेको सन्दर्भमा नगरपालिकाले संचालन गरेको यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय जनाको मृत्यु हुने गरेको छ । यसरी मर्नेहरू अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार रेबिजको भाइरस अघिकांश कुकुरको टोकाइबाट सर्ने गर्छ ।

प्रतिक्रिया