बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा सर्पको टोकाइबाट पाँच महिनामा ४ जनाको मृत्यु, ४३ घाइते

बिहिवार , आश्विन ११, २०८०

सिन्धुली – सर्पको टोकाईबाट सिन्धुलीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पाँच महिनाको अवधिमा सर्पको टोकाईबाट चार जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।

बिषालु सर्पको विगविगी रहेको सिन्धुलीको दुधौली क्षेत्रमा पाँच महिनाको अवधिमा दुई महिला र दुई जना बालक गरी चार जनाको सर्पको टोकाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ १५ गते सर्पले टोकेर मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका १ कुर्थौलीका एउटै घरका दुई बालक रहेका छन् ।

स्थानिय गणेश पहाडीका १३ बर्षिय छोरा ग्रिस पहाडी र ३ बर्षिय छोरा ग्रिस्म पहाडीको सुतेकै ठाँउमा सर्पले टोकेर मृत्यु भएको हो । यस्तै दुधौली नगरपालिका १० की शिब कुमारी कार्कीलाई सर्पले डस्दा मृत्यु भएको हो । गत जेठ २६ गते आफ्नै घरको पेटिमा हिड्ने क्रममा सर्पले डस्दा ६२ बर्षिय कार्कीको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

गएको असोज ४ गते सर्पले टोकेर सिन्धुलीमा एक जना महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ की ६५ वर्षीया जानुकी माझी सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । माझीलाई गत बुधबार सर्पले टोकेको थियो । मृतक चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो । सुविधायुक्त सर्पदंश अस्पताल दुधौलीमा नहुँदा बर्षेनी सर्पले डसेर मृत्यु हुदै आएको स्थानियले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्पले टोकेर असार महिनामा ११ जना र श्रावणमा १ जना गरि १२ जना महिला घाइते भएका छन् । यस्तै गत जेठ महिनामा ४ जना र असारमा १७ जना गरि २१ जना पुरुष घाइते भएका छन् भने ९ जना बालबालिका घाइते भएका छन् । साउनमा १ पुरुष, १ महिला र २ बालबालिका गरी ४ जना, भदौंमा १ पुरुष सर्पको टोकाईबाट घाईते भएका छन् ।

अत्याधिक गर्मि बढेसँगै सिन्धुलीको दुधौली नगरपालिका र कमलामाई नगरपालिकाका केहि वडा विषालु सर्पको विगविगीनै हुन्छ । तर सर्पको टोकाइलाई तत्काल उपचार गर्न नसक्दा बर्षेनी ज्यान गुमाउदै आएका छन् । बारिको काम गर्दा, घरकै आगनमा काम गर्दा सुतेकै अवस्थामा सर्पले धेरै डस्ने गरेको स्थानियको भनाई छ । २०८० साल सुरु भएदेखि हालसम्म चार जनाको मृत्यु हुनुका साथै ४३ जना घाइते भएपछि दुधौलीका स्थानिय त्रसिद बनेका छन् ।

प्रतिक्रिया