बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

अपडेट हुदैँनन् सिन्धुलीका सरकारी कार्यालयको वेभसाइट

सोमवार , आश्विन ८, २०८०

सिन्धुली– सिन्धुलीमा रहेका केन्द्र, प्रदेश र स्थानिय तह मातहतका कार्यालयले वेभसाइट अद्यावधिक ‘अपडेट’ नगरेको पाईएको छ । नेपाली जनताको करबाट संचालनमा रहेका सार्वजनिक कार्यालयले आम्दानि, खर्च, बजेट तथा कार्यक्रम, योजना, परियोजना, कार्यालयको निर्णय, ऐन कानुन तथा कार्यविधी, सार्वजनिक खरिद तथा बोलपत्रका सूचना लगायत सार्वजनिक तथ्यांक वेभसाइटमा अद्यावधिक नगरेका हुन् ।

सार्वजनिक कार्यालयबाट प्रवाह हुने सेवा, प्रगति प्रतिवेदन लगायत महत्वपुर्ण जानकारी नागरिकसम्म पुर्‍याउने सबैभन्दा भरपर्दो, सजिलो र छिटोे माध्यम वेभसाइट हो । तर, सिन्धुलीका सरकारी कार्यालयको वेभसाईट प्रयोगविहिन भएको छ । जिल्लाको प्रशासकीय अगुवाको भूमिकामा रहेको जिल्ला प्रशासन कार्यालयलेनै वेभसाइट व्यवस्थापनलाई चुस्त बनाउन सकिरहेको छैन । अन्य सरकारी कार्यालय भन्दा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले वेभसाइटबाट सूचना प्रवाह गरेपनि जिल्लामा रहेका कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण र सम्पर्क नम्बर अद्यावधिक नगर्दा सरुवा भइसकेका कर्मचारीले दुःख पाएको एक कार्यालयका पुर्व प्रमुखले बताए ।

जिल्लामा रहेका जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, प्रादेशिक सडक डिभिजन कार्यालय, यातायात व्यवस्था कार्यालय, कृषि ज्ञान केन्द्र लगायत अधिकांश सरकारी कार्यायको वेभसाइट अद्यावधिक गरिएको छैन । यतिसम्म कि, केहि सरकारी कार्यालयका वेभसाइटमा कार्यालय प्रमुखको फोटो र विवरण समेत पुरानै राखिएको छ ।

त्यसैगरि, सिन्धुलीका सरकारी कार्यालयसँगै जिल्लाका नौवटै स्थानिय तहले वेभसाइट अद्यावधिक गर्न कञ्जुस्यार्इँ गरेका छन् । जिल्लाका सरकारी कार्यालय र स्थानिय तहले जानीजानीनै वेभसाइटमा मासिक प्रतिवेदन, आय÷व्यय लगायत कार्यालयको कामकार्वाही सार्वजनिक गर्न नखोजेको तीनपाटन गाउँपालिका ४ का अनिल कार्कीले आरोप लगाउनुभयो । “सार्वजनिक कार्यालयले सहजै उपलब्ध गराउन सक्ने सूचनानै वेभसाईटमा नराखेपछि उनीहरुको कामकार्वाहीप्रति कस्ले औँला ठडाउने ?”, उहाँले प्रश्न गर्नुभयो ।

जिल्लाका कुनैपनि स्थानिय तहले मासिक प्रगति प्रतिवेदन वेभसाइटमा ‘अपलोड’ गर्ने गरेका छैनन् । जिल्लाका अधिकांश सरकारी कार्यालय तथा स्थानीयले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । प्रत्येक सरकारी कार्यालयमा आ–आफ्नै वेवसाइट छन् । त्यस्ता अनलाइनहरुबाट आम नागरिकलाई सूचना प्रदान गर्नेपर्ने सरकारी मान्यता छ । आफुले गरेका काम कारवाहीको सूचना नागरिकलाई दिनु कार्यालयको कर्तव्य भए पनि अहिले धेरै जस्तो कार्यालयका अनलाइन बन्द भएका छन् भने कतिका वर्षाँै सम्मपनि अपडेट भएका छैनन् ।

जिल्लाको सुनकोशी गाउँपालिकाले गत सालको पुष महिनादेखिकै मासिक प्रगति प्रतिवेदन वेभसाइटमा सार्वजनिक गरेको छैन । सुनकोशीले आर्थिक वर्ष २०७४/०४५ देखि गाउँपालिकाको आम्दानी र खर्चको वार्षिक प्रतिवेदन अपलोड नगरेको अवस्था छ । त्यस्तै, तीनपाटन गाउँपालिकाले मासिक प्रतिवेदन अपलोड नगरेकै झण्डै छ महिना हुन लागिसकेको छ । सुनकोशी र तीनपाटन गाउँपालिकामात्रै नभएर जिल्लाका नौँवटै स्थानिय तहले वित्तिय तथा सेवासुविधाको जानकारी वेभसाइटमा प्रविष्ट गरेका छैनन् । काठमाडौँमा बसेर स्नातक पढ्दै गर्नुभएका सिन्धुलीको सुनकोशी गाउँपालिका २ का सन्तोष थापाले स्थानिय तहले सार्वजनिक खरिद तथा बोलपत्रका सूचना लगायत आय÷व्यय वेभसाइटमा प्रविष्ट नगर्दा शंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले तिरेको करको सदुपयोग भयो कि भएन भनेर काठमाडौँ बसेर मैले कहाँबाट हेर्ने ?” एक रुपैँयाको खर्चपनि सरकारी कार्यालयले सार्वजनिक गर्नुपर्ने भन्दै उहाँले स्थानिय तहलाई पारदर्शि बन्न सुझाव दिनुभयो ।

कार्यालयको कामकार्वाही अपडेट गर्ने लक्ष्यका साथ स्थानीय तह र सरकारी कार्यालयमा सूचना अधिकारी, सूचना प्रविधि अधिकृत लगायतको व्यवस्था गरिएतापनि उनीहरुनै आफ्नो कार्यालयबाट भइरहेको कामकार्वाहीप्रति अनवज्ञि हुने गरेको जिल्ला पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले बताउनुभयो । सार्वजनिक कार्यालयलाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन वेभसाइट गतिलो माध्यम रहेको घिमिरेको भनाई छ ।

प्रतिक्रिया