बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

शिक्षकहरु संविधान अनुसार चल्नुपर्छ : सांसद दाहाल

शुक्रवार , आश्विन ५, २०८०

सिन्धुली, – काठमाडौँमा जारी शिक्षक आन्दोलनको विषयमा सिन्धुलीका सांसद लेखनाथ दाहाल राजनले शिक्षकहरु संविधान अनुसार चल्नुपर्ने बताउनु भएको छ । स्थानिय तहको मातहत बस्दैनौ भन्ने माग सहित अन्य विभिन्न मागहरु राखेर आन्दोलन गरिरहेका शिक्षकहरुको सन्र्दभमा उहाँले संविधान विपरित माग राख्न नमिल्ने बताउनुभयो ।

शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सिन्धुली क्षेत्र नम्बर २ का सांसद दाहालले संविधानको रक्षा गर्ने संविधानको सफल कार्यन्वयन गर्ने र संघियताको व्यवहारिक रुपमा कार्यन्वयन गर्ने प्रक्रियामा शिक्षकहरुले अवरोध गर्न नमिल्ने बताउनुभयो । “शिक्षक सरुवाको अधिकार स्थानिय तहमा दिन नहुने भन्दै स्थानिय तहको अधिकारका सन्दर्बमा समेत असन्तुष्टि शिक्षकहरुले जनाएका छन् । संविधान प्राप्तीका लागि शिक्षकहरुको पनि सहभागिता छ” उहाँले भन्नुभयो,“ योगदान र बलिदान शिक्षकहरुको छ त्यसैले संविधानको सफल कार्यन्वयनमा सहयोग गर्नुपर्छ ।”

“शिक्षकहरुलाई निजामती सो सरह सेवा सुविधा खोज्दैगर्दा निजामती सरह भुमिका पनि निर्वाह गर्नुपर्छ, दुर्गम देखि सुगम सबै जिल्लामा सरकारले सरुवा गरेको ठाँउमा शिक्षण गर्न जान तयार हुनुपर्छ” उहाँले भन्नुभयो,“ तर यो विधेयकले त्यो कल्पना गरेको छैन । हाम्रो मुलुकले अहिलेको परिस्थितिमा थेग्न पनि सक्दैन यसैलाई सुधार गरेर सम्बोधन गर्न सक्ने ठाँउमा सम्बोधन गरेर लैजानु पर्छ” ।

शिक्षकहरुको मागलाई व्यवस्थित तरिकाले संसदमा लैजाने र सच्याउनुपर्ने र परिमार्जन गर्नुपर्ने देखिए त्यहि छलफल गरेर परिमार्जन हुने उहाँको भनाई छ । नेकपा माओवादीका नेता समेत रहनु भएका दाहालले सांसद र संसद प्रति विश्वस्त भएर विद्यालय फर्किनु पर्ने बताउनुभयो । ट्रेड युनियनको अधिकार शिक्षकलाई पनि हुने र ट्रेड युनियनको अधिकारनै राजनीतिक आस्था भएकाले राजनीतिक आस्था हुनु र गतिविधि हुनु फरक कुरा भएकाले ट्रेड युनियनको अधिकार शिक्षकले पाउनुपर्ने स्पष्ट धारणा राख्नुभयो ।

उहाँले अहिले जतिमात्रै सरकारी विद्यालयमा काम गरेर सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न नसकिने भएकाले अनिवार्य दश देखि ४ बजेसम्म शिक्षकहरुले शिक्षाको गुणस्तरमै लाग्नुपर्ने धारणा राख्नुभयो । “सरकारी विद्यालयको विगतको अवस्थालाई निर्मम भएर समिक्षा गर्नुपर्छ ”, उहाँले भन्नुभयो “सरकारी विद्यालयमा आकर्षण पैदा गराउन किन सकिएन । परिमार्जन गर्न मिल्ने बुदामा सरकार लचिलो हुन्छ तर शिक्षाको गुणस्तरमा अब विगतको जस्तो गरेर हुदैन ।”

अस्थायी करारका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा ल्याउनुपर्ने मागको सन्र्दभमा छलफल गर्न सकिने दाहालको भनाई छ । तत्कालै समाधान गर्नुपर्ने र हल गर्नुपर्ने सच्याउनुपर्ने बुँदा सरकारले सच्याउछ, तर शिक्षक महासंघले व्यवस्थित तरिकाले आफ्ना मागहरु संसदमा पेश गर्नुपर्नेछ । सरकारसँग व्यवस्थित तरिकाले आफ्ना मागहरु राख्ने र बार्ता गर्दै गर्ने र शिक्षकहरुलाई विद्यालय जान उहाँले अनुरोध गर्नुभयो । विधेयक पेश भएको हो, पास भएको होइन । संसदमा गम्भिर छलफल हुन्छ सच्याउनु पर्ने सच्याएर मात्रै पास हुन्छ उहाँले पत्रकाहरुसँग भन्नुभयो, “संविधान र संघियतालाई स्विकार्नुपर्छ तर संविधानको जगमा बसेर आएको र ऐन कानुनमा के के परिमार्जन गर्नुपर्छ सरकारले गर्छ हामी गर्छौ ।” उहाँले सरकारले निरन्तर बार्ताको आह्वान गरिरहेको बताउनुभयो । मुलुक र जनताको हितलाई केन्द्रमा राखेर शिक्षकका जायज माग पुरा गर्छौ, । सरकारले नीजि विद्यालय आवश्यक छैन भन्ने गरि आम विद्यार्थी र अभिभावकलाई विश्वास दिलाउने गरि काम गर्छ, त्यसमा शिक्षकले सघाउनुपर्छ ।

प्रतिक्रिया