बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीका दुई सामुदायिक विद्यालय देशकै उत्कृष्ट घोषणा

बुधवार , आश्विन ३, २०८०

सिन्धुली– सिन्धुलीको दुधौली र कमलामाई नगरपालिकामा रहेको दुई सामुदायिक विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको छ । जिल्लाको दुधौली नगरपालिका ११ स्थित मैनिमा रहेको कमला माध्यमिक विद्यालय यस वर्षको सार्वजनिक (सामुदायिक) विद्यालयतर्फ उत्कृष्ट भएको छ । यस्तै, जिल्लाको कमलामाई नगरपालिका ४ स्थित ढुंग्रेवासमा रहेको कमला माध्यमिक विद्यालयलाई देशकै दोश्रो उत्कृष्ट विद्यालय घोषणा गरिएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार उत्कृष्ट विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा संघसंस्थाहरुलाई पुरस्कृत गर्नेक्रममा सिन्धुलीका दुई विद्यालय उत्कृष्ट घोषित भएका हुन् । देशभरका सार्वजनिक विद्यालयमध्ये २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा दुधौलीको कमला विद्यालय प्रथम भएको मन्त्रालयले जनाएको छ । उत्कृष्ट उक्त विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कार दिइएको छ ।

यस्तै, देशभरको दोश्रो उत्कृष्ट सामुदायिक विद्यालय घोषित भएको कमलामाई नगरपालिकाको कमला विद्यालयले नगद दुई लाख पुरस्कार पाएको छ । पुरस्कार लिन काठमाडौँ पुग्नुभएका कमला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र पोखरेलले विद्यालयलाई देशकै दोश्रो उत्कृष्ट सामुदायिक विद्यालय बनाउन भुमिका खेल्नुहुने सम्पूर्ण शिक्षकलाई धन्यवाद दिनुभयो । कमलामाई नगरपालिकाको मेयर समेत रहनुभएका पोखरेलले कमला विद्यालयको मात्र नभएर कमलामाई नगरपालिका भित्रका सम्पूर्ण माध्यमिक तह अन्तर्गतका सामुदायिक तथा निजि विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने भुमिका निभाउन आफूले शुरुवाति दिनदेखिनै सक्रिय भएको बताउनुभयो । उहाँले नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिलाई भविष्यको कर्णधार उत्पादन गर्न कमलामाई नगरपालिका सधैँ सकारात्मक रहेको आश्वासत पार्नुभयो ।

निजी विद्यालयतर्फ भने सिन्धुलीको कुनैपनि माध्यमिक विद्यालय उत्कृष्ट सूचिमा पर्न सकेनन् । निजी विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । यस विद्यालयले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ । यसैगरी, काठमाडौँको सेन्ट जेभियर्स कलेज दोश्रो भएको छ भने काठमाडौँकै बुढानीलकण्ठ स्कुलले तेश्रो स्थान हासिल गरेको छ । यी दुई विद्यालयले राष्ट्रि शिल्ड, ध्वजा, प्रमाणपत्रसहित क्रमशः दुई र एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

सिन्धुली प्राविधिक शिक्षालयको हब बन्दै गएपनि यहाँका कुनैपनि प्राविधिक शिक्षालय सरकारले सार्वजनिक गरेको उत्कृष्ट सूचिमा समावेश हुने सकेनन् । प्राविधिक शिक्षालयतर्फ रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक देशकै उत्कृष्ट हुँदै नगद एक लाख पुरस्कार पाएको छ । यस्तै, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको लाइफ लाइन अस्पताल प्रालि र मोरङ, विराटनगरको आदर्श माध्यमिक विद्यालयले पनि राष्ट्रिय पुरस्कार पाएका छन् । सबैलाई नगद एक–एक लाख पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

क्याम्पसतर्फ पनि जिल्लाका कुनैपनि क्याम्पसले पुरस्कार प्राप्त गरेन । क्याम्पसतर्फ ललितपुरको पुल्चोक क्याम्पस, रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस र काठमाडौंको काठमाडौँं मोडेल कलेज उत्कृष्ट भएका छन् । तीनवटै क्याम्पसले दुई लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।

सिन्धुलीबाट को–को पुरस्कृत भए ?

सरकारले राष्ट्रिय शिक्षा दिवस–२०८० का अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने नौँ सय ६२ जनालाई विभूषित गरेको छ । नेपाल विद्याभूषण क बाट सिन्धुलीका चारजना शिक्षक विभूषित भएका हुन् । विसं २०७४ मा नेपाल संस्कृत विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गर्नुभएका हरिप्रसाद पोखरेल, वि सं २०७९ सालमा काठमाडौँ विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गर्नुभएका चेतनाथ पन्त, वि.सं २०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेफ्रोलोजी विषयमा चिकित्साशास्त्र विद्यावारिधि गर्नुभएका मुकुन्द प्रसाद काफ्ले र वि.सं २०७९ सालमा काठमाडौँ विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गर्नुभएका दुर्गा प्रसाद बराल विभूषित भएका छन् ।

त्यसैगरि, नेपाल छात्रा विद्यापदक ‘ख’ तर्फ विसं २०७७ सालमा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ मा उच्चतम ग्रेड प्वाईन्ट प्राप्त गरी छात्रातर्फ प्रथम हुनुभएकी सुनिता श्रेष्ठ र २०७९ सालमा कक्षा १२ मा उच्चतम ग्रेड प्वाईन्ट प्राप्त गरी छात्रातर्फ प्रथम प्रशंसा सुवेदी विभूषित भएका हुन् । त्यस्तै, सिन्धुलीबाट राष्ट्रिय शिक्षा पुरस्कार अन्तर्गत सार्वजनिक विद्यालयका दुईजना शिक्षक पुरस्कृत भएका छन् । माध्यमिक विद्यालय हायुटारका माध्यमिक शिक्षक विजयकुमार थिङ र कामदा माध्यमिक विद्यालय, डूँडभञ्ज्याङका बालविकास सहजकर्ता गोलन्जोर १ का दुर्गा अधिकारी राष्ट्रिय शिक्षा पुरस्कारबाट विभूषित हुनुभएको हो ।

प्रतिक्रिया