बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

तीजमा सिन्धुलीको मठ मन्दिरमा महिलाको देखिएन रौनक

सोमवार , आश्विन १, २०८०

सिन्धुली – हिन्दु नेपाली महिलाहरुको महान् पर्व तीजका अवसरमा सिन्धुलीका प्रमुख शिवालय मन्दिरहरुमा विगतको जस्तो रौनक देखिएन । विगतमा महिलाहरु शिवालय मन्दिरमा तीजको दिन विहानैदेखि भिड लाग्ने भएपनि यस बर्ष विगतको जस्तो रौनक देखिएन ।

तीजको दिन विशेष गरि सिन्धुलीको कालिमाई मन्दिरमा महिलाहरुले विभिन्न गितमा छमछमी नाचेर उत्साहका साथ तीज मनाएका छन् । यस्तै सुनकोशी गाँउपालिकास्थित कुशेश्वर महादेवको मन्दिरमा पनि महिलाहरुको भिड लागेको स्थानियले बताए । यसका अलवा, माझीटारको शिवालय, ढुंग्रेबास सहित जिल्लाभरका शिवालय मन्दिरहरुमा महिलाहरु पुगेका छन् । यद्यपी विगतको जस्तो तीजको अवसरमा मन्दिरहरुमा रौनक नभएको प्रत्यक्ष दर्शीहरुको भनाई छ । भाद्र शुक्ल तृतीयाका दिन मनाईने हरितालिका तीज पर्व देवादिदेव महादेवको पुजा आराधना गरि मनाइएको हो । भाद्र शुक्ल तृतीयामा ब्रत बसी शिव पार्वतीको पुजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्ती हुने धार्मिक विश्वास छ । तीजको दिन सोमबार महिलाहरुले विभिन्न मठ मन्दिरमा पुजा आराधना गरि पतिको आयू लामो होस् भन्ने तथा राम्रो पति पाउ भन्ने विश्वास राखेर पुजा गर्ने गरेको बताइन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको विश्वासमै यो व्रत सुरु भएको पौराणिक मान्यता अनुसार अविवाहित महिलाहरु आफुले चाहेजस्तो पति पाउने विश्वास सहित ब्रतबस्ने गरेका छन् भने विवाहित महिलाहरुले आफ्नो पतिको आयू लामो होस् भनी व्रत बस्ने गरेका छन् । पार्वतीलाई बरदानविपरित पिता हिमालयले पार्वतीको इच्छाविपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथिहरुलाई आफ्नो समस्या सुनाइन् र पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथिहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाँउमा लुकाएर राखिदिए । साथिहरुले लुकाएकै ठाँउमा पार्वतीले निराहार व्रत गरि महादेवलाई पतिका रुपमा प्राप्त गरिन् यसरी पार्वतीले साथिहरुद्धारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यहि समयदेखि हरितालिका तीजको व्रत लिने चलन भएको धार्मिक विश्वास रहेको छ ।

धार्मिक विश्वास एकातिर हुदाहुदै पछिल्ला केहि बर्षदेखि तीज भड्किलो बन्दै गएको छ । डेढ दुई महिना अगाडीबाटै तीजको दर खाने भड्किलो चलन थपिन थालेपछि समाजिक मुल्य मान्यता तथा परम्परालाई जोगाउन मुस्किल पर्ने जानकारहरु बताउछन् । जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की तीजलाई पुरानै चलन अनुसार मनाउनु पर्ने बताउनुभयो । दरको वाहानामा हुने भड्किलो चलन रोक्दै पुरानै चलन अनुसार तीज मनाउन सके राम्रो हुने उनको धारणा छ । तीजको दर खुवाउन भन्दै सरकारी कार्यालयलेनै बजेटनै छुट्याएर पार्टी प्यालेसमा तीज अगावै दर खुवाउने चलन पछिल्लो समय जताततै आउन थालेको छ । जसका कारण दर खाने तीजमा छोरी चेलीबेटी माइत जाने र सुखदुख साट्ने परम्पराबाट आधुनिकता तर्फ मोडिन थालेको भन्दै जेष्ठ महिलाहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।

कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले बजेट सबै वडामा दर खुवाउन दिएको भएपनि दर खुवाउने कार्यक्रम राखि महिलाहरुको समस्या र सवालका विषयमा छलफल गर्ने उदेश्य राखिएको बताउनुभभयो । पछिल्लो समय मठमन्दिरमा लाग्नुपर्ने भिड महिलाहरुको ठुला होटल रिर्सोटहरु तथा पार्कहरुमा लाग्न थालेको स्थानिय बताउछन् । प्रविधिको प्रयोगसँगै ठुला होटलका सौन्दर्यता तथा पार्कको सौन्दर्यतासँगै नाचगान गरि तस्विर कैद गर्ने फेसबुक र टिकटकमा रमाउने चलन आउन थालेसँगै मठमन्दिरमा जाने प्रचलन घट्दै गएको जानकारहरु बताउछन् । सोमबार जिल्लास्थित केहि ठुला होटहहरुमा समेत तीज विशेष कार्यक्रम भएको देखिएको छ ।

प्रतिक्रिया