बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

भाइरल हुने चक्करमा हाँसोको पात्र बन्दै सिन्धुलीका सांसद

शनिवार , भाद्र ३०, २०८०

सिन्धुली – पछिल्लो समय सिन्धुलीको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद लेखनाथ दाहाल ‘राजन’ सामाजिक संजालमा भाइरल हुनुहुन्छ । युट्युबरबाट घेरिन रुचाउने सांसद दाहालले संसद भवनमा पशुपतिनाथ मन्दिरको जलहरीमा तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सुन भनेर पित्तल जडान गरि भ्रष्टाचार गरेको आरोप लगाएपछि नेकपा एमालेले झण्डै एक सातासम्म संसदनै अवरुद्ध गरेको थियो । सांसद दाहालको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदलाई माफी माग्न लगाउँदा सांसद हतोत्साहि हुने भन्दै आफैँले माफी मागेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताउनुभएको थियो ।

मुलधारका मिडियामा भन्दा युट्युब च्यानलमा निरन्तर देखिदैँ आउनुभएका सांसद राजनले एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिच खेल हुनुअघि दिनुभएको अभिव्यक्तिले उहाँलाई हाँसोको पात्र नै बनायो । प्रचण्डको सरकार बनेपछि नेपालले निरन्तर अन्तर्राष्ट्रिय सफलता हासिल गरेको बताएपछि सांसद राजनको चौतर्फि आलोचना भएको थियो । यतिसम्म कि मुलधारका मिडियाले समेत सांसद राजनले गम्भीर भएर कसरी ठट्टा गर्न सकेको भन्दै खिल्ली उडाएका थिए । सांसद राजनले हरेक हप्ता भाइरल मुद्धा उठाएर मिडियामा देखिने स्टण्ट गरिरहेको सामाजिक संजालमा आलोचकहरुले टिकाटिप्पणी गरिरहेका छन् । केहि दिनअघि मात्रै सांसद राजनले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हेर्न महिनामै एक हजार भन्दा बढि विदेशिहरु नेपाल आउने गरेको बताएपछि पुनः उहाँ ट्रोलको सिकार हुनुभएको छ । युट्युबरलाई भाईरल हुने सामाग्री चाहिएको र सांसद राजनलाई मिडियामा देखिनुपर्ने भएकोले युट्युबर र राजनबिचको सम्बन्ध स्वार्थपुर्ण रहेको एक फेसबुककर्ताले प्रतिक्रिया जनाएका छन् ।

सिन्धुलीबाट चुनावमा कहिले पराजित नभएका पुर्वकृषिमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई पन्छाएर सांसदको टिकट पाएसँगै चर्चामा रहनुभएका सांसद राजन पछिल्लो समय भने बेतुकका अभिव्यक्ति दिएर भाइरल भइरहनुभएको छ । मिडियामा सधैँ देखिन चाहनुहुने राजनले पछिल्लो समय दिएका अभिव्यक्तिले उहाँलाई हाँसोका पात्र बनाएको उहाँकै एक समर्थकले बताए । विगतमा जिल्लाका नेताहरुको अनुहार संसद र मिडियामा देख्नै मुश्किल भएपनि अहिले जताततै देख्दा खुशी लागेको तर भाइरल हुने जोसमा सांसद बहकिनु नहुने उनले सुझाव दिए ।

झण्डै तीन दसकदेखि राजनिति गर्दै आउनुभएको सिन्धुलीका एक नेताले वाक पटुता र चतुर्यता राजनीतिमा आवश्यक रहेको तर फेँद न टुप्पोको अभिव्यक्ति दिएर जग हसाउनु लज्जास्पद भएको बताउनुभयो । उनले भने, “जिल्लाका मुद्धालाई राजनले चासो दिएका छैनन् । सिर्फ मिडियामा कसरी देखिन सकिन्छ र कसरी भाइरल भईन्छ भने अन्ठसन्ठ बोलेको देख्छु ।” झण्डै २६ करोड बढि लगानीमा निर्माण भइरहेको जिल्ला अस्पताल गुरुयोजना अनुसार बन्न नसकेकोे नदेख्ने तर प्रधानमन्त्री प्रचण्डलाई हेर्न महिनामै एक हजार विदेशी आएको देख्ने राजनले जिल्लाको मुद्धापनि उठाउनुपर्ने ती नेताले सिन्धुली सौगातलाई बताए । चालु वर्षमा ५० करोडको कारोबार हुने लक्ष्य लिईएको सिन्धुलीको जुनारमा देखिएको किराको प्रकोप र चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा पनि जुनार सुपरजोन परियोजनामा एक रुपैँया बजेट नआउँदा समेत सांसद राजनले नेदेखेको मझुवाका सिता पहाडीले दुखेसो पोख्नुभयो ।

प्रतिक्रिया