सिन्धुली, – मुग्लानबाट बर्षौपछि आफ्नै जन्मथलो नेपाल फर्किएका एक बृद्धले ८१ बर्षको उमेर नागरिकता लिएका छन् । झन्डै ६४ बर्षअघि गाँउ छाडेर रोजगारीको खोजीमा मुग्लान गएका ८१ बर्षिय काजीमान थिङले विहिबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ८१ बर्षको उमेरमा नागरिकता लिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको हातबाट नागरिकता पाएपछि उहाँले मुस्कुराउदै नेपाली नागरिक भएकोमा गर्व लागेको बताउनुभयो । “नागरिकता लिए खुसी छु” , उहाँले भन्नुभयो, “लामो समय बाहिर बसेर आएको थिए अब नागरिकता सँगै बृद्धभत्ता पनि पाउने रहेछु, निकै खुसी लागेको छ ।”
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उपलब्ध गराएको नागरिकता अनुसार तत्कालिन सित्तलपार्टी गाविस वडा नम्बर ६ हालको सुनकोसी गाँउपालिका ६ नम्बर वडा स्थाई ठेगाना भएका काजीमानको १९९९ साल चैत २९ गते जन्ममिति रहेको छ । नागरिकता बनाउन र बर्षौपछि गाँउ फर्किएका काजीमानलाई आफन्त भेटाउन जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले सहयोग गरेकी थिइन् ।
काजीमानलाई बंसजकै आधारमा नागरिकता दिइएको प्रजिअ नेपालको भनाई छ । “वडा कार्यालयको सिफारिस सहित आवश्यक काजजात अनुसार नागरिकता दिएका छौ”, प्रजिअ नेपालले भन्नुभयो । सिन्धुलीको सुनकोसी गाँउपालिका ६ गहुँखर्क घर बताउने काजीमान १४ बर्षको उमेरमा घरमा बुबाले भैसी बेचेर राखेको पाँच सय रुपैया झिकेर सिन्धुलीबाट हिडेरै धनुषा पुगेका थिए त्यहाँबाट गाडीमा यात्रा गरि विराटनगर पुगेर केहि बर्ष आफन्तकोमा बसेको उहाँले सुनाउनुभयो । केहि बर्षको विराटनगर बसाई पछि भुुटानमा रोजगारी गरि बसेको र पछि भारतको पश्चिम बंगाल लगाएका ठाँउमा काम गरेर समय वितेको बताउनुहुन्छ । यताबाट जाँदा पाँच सय रुपैया लिएर गएको थिए तर बर्षौपछि फर्किदा समेत रित्तो हात फर्किए उहाँले भन्नुभयो लाउ लाउ र खाउ खाउ भन्ने उमेर उत्तिकै वित्यो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन कुरेर बस्नुभएका काजीमानले परदेशको कथा सुनाउदै भन्नुभयो “भुटानको फुन्चोलिग भन्ने स्थानमा दैनिक दुई सय पचास रुपैयामा कारखानामा काम गरेको हुँ । पछि त्यो काम छाडेर भारतको पश्चिम बंगालको काल्चिनीमा पुगेर खेतीपातिको काम गर्ने गरेर बसे त्यहाँ विवाह पनि गरे तर छोराछोरी भएनन् । विवाह गरेको १२ बर्षजति पछि श्रीमतीको मृत्यु भयो मलाई पनि रोगले च्याप्यो अनि छिमेकीको सहयोगमा नेपाल आए ।” विर्तामोड आउनुभएका काजीमानलाई प्रहरीको सहयोगमा इटहरीको माया घरले आफन्तसम्म ल्याएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।
हाल उहाँ सौतेनी आमा पट्टिीको बैनीको घरमा बस्दै आउनु भएका छन् । उहाँलाई नागरिकता बनाउन जिल्ला प्रशासनसम्म उहाँकै बहिनी चन्द्रमायाले ल्याउनmु भएको थियो । प्रजिअ नेपालले नागरिकता दिएसँगै चन्द्रमाया पनि खुसी हुनुु भएको छ । ढिलै भएपनि दाई नेपालको नागरिक भएको भन्दै खुसी व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख कार्कीले आफ्नै रोहबरमा आवश्यक कागजात जुटाई नागरिकता दिलाउन सहयोग गरेको बताउनुभयो । नागरिकता पाएपछि बृद्ध भत्ता आउछ, उहाँले भन्नुभयो काजीमानको बहिनीलाई पनि काजीमानको पालनपोषण र औषधि उपचारमा सहज हुन्छ ।