सिन्धुली – कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले नेपाली चाडपर्व रवाफिलो र भड्किलो बन्दै गएको बताउनु भएको छ । कनपा–९ को वडा कार्यालयले शनिबार भिमानमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदान–प्रदान कार्यक्रममा तीज पर्वले विकृतिको रुप लिदैँ गएको बताउनुभएको हो ।
नेपाली धर्म, संस्कार, संस्कृति र परम्परा मनाउने नाममा देखासिकी गरेरभन्दा पनि आफ्नो धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउने गरि मनाउन पर्ने उहाँको जोड थियो । “तीजको संस्कृति संरक्षणका लागि अनेकताभित्रको एकतालाई कायम गदै सद्भावका साथ मनाउनु पर्छ । सामाजिक उत्तरदायी भएर मनाएको पर्वले एक अर्कामा फुटेका मनहरुलाई एकतामा बाधेर सामाजिक रुपान्तरणमा लाग्न प्रेरणा दिन्छ, ” उहाँले भन्नुभयो ।
चाडपर्वका बेला समाजमा बढ्दै गएको रवाफिलो र भडकिलोपनलाई रोक्न आवश्यकता रहेको उहाँले बताउनुभयो । चाडपर्वको मौलिकतालाई जोगाउन सबै सचेत रहनु पर्ने उहाँको धारण थियो । तीजको महत्व, महिमा बुझेर संस्कृति संरक्षणमा सहयोग पुग्ने गरी मनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तीज संस्कृतिको संरक्षणमा टेवा पु¥याउन सहयोग पुग्ने गरि कार्यक्रम सञ्चालन गर्न नगरभित्रका १४ वटै वडाहरुलाई २५ हजारका दरले आर्थिक सहयोग वितरण गरेका छौँ । यसले हाम्रो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने सहयोग पुग्ने छ ।”
कमलामाई नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विनोद प्रधानको अध्यक्षतामा सञ्चालन भएको हरितालिका तिज विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेखनीय सहभागिता थियो ।