बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

जताततै पहिरो, सिन्धुलीको जोखिममा पुर्वी पहाडको यात्रा

शनिवार , भाद्र २३, २०८०

सिन्धुली, – मध्यपहाडी राजमार्गमा जताततै पहिरै पहिरो भएको छ । मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि सडकखण्डमा जताततै पहिरो जाँदा राजमार्गको यात्रामा जोखिम बढ्दै गएको छ । सिन्धुलीको गोलञ्जोर र फिक्कल गाँउपालिकामा पर्ने उक्त खण्डमा माथिबाट पहिरो खस्दा राजमार्गमा जोखिम बढेको हो । राजमार्ग निर्माणका क्रममा आवश्यक ठाँउमा वाल तथा दिगोपनालाई ध्यान नदिदा खुर्कोट घुर्मि ६० किलोमिटर सडकखण्डमा सय भन्दा बढी पहिरो झरेको स्थानिय बताउछन् ।

मध्यपहाडी राजमार्गमा खुर्कोटबाट करिब पाँच किलोमिटर पुर्व तर्फ अक्करेभिर भन्ने स्थानमा सामान्य बर्षाहुनेवित्तिकै सडक अवरुद्ध हुने गरि पहिरो झर्ने गरेको छ । जिल्लाका सांसदले सदनमै पहिरो नियन्त्रण गरिदिन माग गरेपनि सरकारले पहिरो नियन्त्रण गर्न सकेको छैन । यस्तै राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग भएर आवतजावत गर्ने यात्रुलाई सास्ती मात्रै भएको छैन यात्रा जोखिम समेत बढेको छ । पुर्वी पहाडका ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा उदयुपुर लगायतका जिल्लामा आवातजात गर्ने मध्यपहाडी राजमार्गमा दैनिक जसो माथिबाट पहिरो खस्ने भएकाले सवारी तथा यात्रुलाई जोखिम रहेको छ । सामान्य बर्षा हुनेवित्तिकै पहिरो झर्ने भएकाले पहिरो पन्छाउन राजमार्ग आयोजनालाई तयारी अवस्थामा रहन निर्देशन गरिएको सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भनाई छ । “हामीले सम्बन्धित राजमार्ग आयोजनालाई पहिरो खस्ने वित्तिकै अवस्था हेरेर पन्छाउन भनेका छौ ”, प्रजिअ नेपालले भन्नुभयो,“ मध्यपहाडी मात्रै नभएर जिल्लाका मदनभण्डारी राजमार्ग विपी राजमार्ग आयोजनालाई समेत निर्देशन गरिएको छ र थप सम्बन्धित स्थानिय तहलाई समेत अवरुद्ध भएमा पन्छाउन भनिएको छ ।”

मध्यपहाडी, मदनभण्डारी र विपी राजमार्गमा नै पहिरो खसेमा तत्कालै हटाउन सम्बन्धित आयोजनालाई निर्देशन गर्नुका साथै स्थानिय तहलाई समेत राजमार्ग अवरोध भए हटाउन अनुरोध गरिएकाले लामो समय राजमार्ग अवरोध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजमार्गसँग जोडेर सहायक सडक निर्माण गर्दा ति सडकले राजमार्गलाई थप क्षति गरेको छ । माथिबाट निरन्तर पहिरो खस्ने भएकाले राजमार्गको यात्रा जोखिम रहेको छ । मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेको छ, स्थानिय सुदिप कार्कीले भन्नुभयो, “खुर्कोट देखि घुर्मिसम्म सयौ ठाँउमा पहिरो छ । पहिरो मात्रै नभएर मध्यपहाडी राजमार्गका केहि खोलामा लामो समयदेखि निर्माणधिन पक्कि पुल नबन्दा खोलाको अवरोध छ ।” फिक्कल गाँउपालिकामा पर्ने केहि खोलामा लामो समयदेखि पुल अलपत्र हुँदा खोलामा बाढीआएसँगै यात्रु तथा सवारी अलपत्र हुने गरेको फिक्कल गाँउपालिकाका अध्यक्ष पार्वती सुनुवारको भनाई छ । “हामीले पालिकाकै मेसिन प्रयोग गरेरै भएपनि राजमार्गको पहिरो पन्छाउने गरेका छौ, तर खोलामा पुल नबन्दा जोखिम छ ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया