बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

कमलाको बगर हेर्दै भक्कानिन्छन् किसान

शनिवार , भाद्र २३, २०८०

सिन्धुली– दुधौली नगरपालिका ९ का किसान रामप्रसाद दनुवारलाइ यतिखेर कमलाखोंचको फाटमा धान भुलेको देख्दा इष्र्या जागेर आउ“छ । कुनै दिन आफ्नो खेतमा यसैगरि धान झुल्दा किसान दनुवार दंग पर्नु हुन्थ्यो । नाचगान गरेर रोपो गोडाइ हुन्थ्यो, उहाँले भन्नुभयो, “पर्म आउने र खेतालालाइ घुंगी सहितको खाजाको व्यवस्था गर्दा कम्ती रमाइलो हुदैनथ्यो ।” दुधौली र कमलामाइ नगरपालिकाको केही वडा कमलाखोँच क्षेत्र भरिमै धान उत्पादनमा अव्वल मानिन्छ ।

कमला नदीको बाढीले सालिन्दा उर्वरभूमी कटान गरेपछि सयौं भूमीपति कृषक अहिले सुकुम्वासी बनेका छन् । जोगिएको खेत नदी कटानको चपेटामा छ । किसान दनुवारलाइ कमलाको कटानले नै भुमीपतिबाट मजदुरमा परिणत गरिदियो । उहाँको दुई बिघा फाट खेत अहिले बगर बनेको छ । कमला नदीको कटानबाट दुधौलीको हत्पते, रानीवास, निपाने, हर्षाही, टाडी, सिर्थौली, लदाभिर र कमलामाई नगरपालिकाका वडा नं. ८–९,१०,१३ र १४ सम्मका किसानहरु प्रभावित हुदै आएका छन् ।

उनीहरुका अनुसार कमला नदी कटानको समस्या बढेको चार दशक हुन लाग्यो । नियन्त्रणको काम प्रभावकारी हुन नसकेको किसानको गुनासो छ । ०४१ र ०५० सालमा चलेको बाढी पहिरोले कमलाखोंच क्षेत्रमा बढि क्षती हुने गरि खेतीयोग्य जमीन कटान भएको छ । ०५० सालको बाढीको कटानबाट सुकुम्वासीमा दर्ज भएका किसान दनुवारको १२ जनाको परिवार मजदुरी गरेर पालिदै आएको छ । कटान भएकै बगर खोस्रिदै बिराएर खेत बनाउन लागि परेका उहाँलाइ फेरि ठुलो बाढी आउने हो की भन्ने चिन्ता छ । उहाँले भन्नुभयो, “तटबन्ध छैन्, कुनबेला उर्लिने हो, नंग्रा ख्याएर बगरलाइ यसो आठापाचा उव्जनी योग्य बनाएको छु । त्यसबाट धेरथोर गुजारा चलेको छ ।”

कमला नदीले दुधौली नगरपालिकाको करिब दुईसय परिवारको चारसय बिघाजति खेत बगाएर बगर बनाएको छ । दुधौलीकै वडा नं २ का किसान बुधे कुमरको पीडा पनि थामि नसक्नुको छ । उहाँ नवसुकुम्वासी बन्नु भएको छ । तीनवर्ष अघि कमला नदीमा आएको बाढीले १० कठ्ठा खेत बगाएपछि अहिले दैनिक मजदुरी नगरे चुलोमा आगो नबल्ने पीडा उहाँले सुनाउनुभयो । भएको खेतको आम्दानीले मजासग परिवारको गुजारा गर्दै आएको उहाँ अहिले बगर बनेको खेत हेरेर भक्कानिनुहुन्छ ।

कमला नदीको पीडा सहेर बस्न बाध्ये किसानहरु कमलाखोंच क्षेत्रमा सयौंको संख्यामा छन् किसान कुमरले भन्नुभयोे, “नदी नियन्त्रण नहु“दा वर्षेनी सुकुम्वासीको संख्या बढ्दै गएको छ ।” सात जनाको परिवारलाइ तीन वर्ष अघिसम्म खान लाउनको कुनै समस्या थिएन उहाले थप्नुभयो, “अहिले अर्काको खेतमा ज्याला, मजदुरी गरेर पेट पाल्ने गरेका छौ ।” वडा नं ६ हर्षाहीका किसान दुर्गाबहादुर घिसिङ गत वर्ष मात्रै कमला नदीमा आएको बाढीले सात कठ्ठा खेत बगाएपछि खानका लागि बेसाउनु पर्ने भएको बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “कमला नदीको कटानले कुनवर्ष कुन किसान सुकुम्वासी हुने हो पत्तै हुदैन् ।”

उहाँका अनुसार कमला नदीको कटानबाट कमलाखोंच क्षेत्रका हजारौं बिघा उर्बर जमिन बगरमा परिणत हुने क्रम बढ्दै गएको छ । कमला नदीले पुर्‍याएको क्षतिको बिबरण कुनै पनि निकायले संकलन नगरेकाले निश्चित क्षेत्रफल भन्न कठिन छ । तर यो नदीले विनास गर्ने कार्य वर्सेनि बढ्दै गएकाले सयौ भूमीपति किसानहरु भूमीहीनमा परिणत भएका छन् ।

कमलानदी नियन्त्रणका लागि चालु आवमा करिडोर सडक सहितको तटबन्ध निर्माण थालनी भएकाले किसानमा आशा पलाएको छ । दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवार गुरुयोजना बनाएर करिडोर निर्माण शुरु भएकाले अव नियन्त्रण हुने विश्वास दिलाउनुहुन्छ । पर्याप्त बजेट अभाव भएपनि धेरथोर काम सालिन्दा हुन्छ, उहाँले भन्नुभयोे, “आगामी आवमा १० किलोमीटर करिडोर निर्माण गर्ने लक्ष छ ।”

प्रतिक्रिया