सिन्धुली – बुधबार दिउँसो एक हुल युवा, बालबालिका तथा वृद्धवृद्धाको समुह सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित सिन्धुलीमाढीमा निस्कियो । नेवारी देखि विभिन्न समुदायका मानिसहरु अनौठा भेषभुषामा सजिएर हुल बाँधेर हिँडिरहेका थिए । श्री कृष्ण जन्माष्टमीको अवसरमा गणेश भीमसेन मन्दिर संरक्षण समितिको आयोजनामा नेवारी लाखे नाच तथा संस्कृतिक कार्यक्रमकालागि ठूलो भिड जम्मा भएको थियो । उक्त भिडमा अधिकांश युवा थिए । “नेवारी पर्वको विशेषता लाखेँ नाच, मौलिक संस्कृति जोगाउन आजको माग” भन्ने नाराका साथ महिला, बालबालिका लगायत सबै उमेर समूहका युवायुवतिले लाखे नाचमा साथ दिइरहेका थिए । बुधबार सिन्धुलीमाढीको विभिन्न ठाउँको परिक्रमा गर्दै रोपाई जात्रा, गाई जात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिएको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समय कला, संस्कृतिको जगेर्ना गर्न सिन्धुलीका युवाहरु एक जुट हुने गरेको जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विनेश श्रेष्ठले जानकारी दिनुभयो । नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म जिल्लाको सदरमुकाममा लाखे नाच प्रदर्शन गरिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय यहाँका युवाहरुले कला, संस्कृतिप्रति चासो देखाइरहेका छन् । युवाहरु आफैँ सक्रिय भएर चाडपर्वमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको अवस्था छ ।”
त्यसैगरि, कमलामाई नगरपालिका ६ स्थित बसपार्क क्षेत्रमा ब्लुअल्पाईन क्लबले मट्काफोर कार्यक्रम आयोजना गरेको थियो । श्रीकृष्ण भगवान्ले मट्का फोरेर दही खाने गरेको किबदन्ती अनुसार संस्कृतीको जगेर्ना गर्नुका साथै कला संस्कृतिको प्रवद्र्धनकालागि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेश थापा मगरले बताउनुभयो । युवाहरु सम्मेलित ब्लुअल्पाईन क्लबले नयाँ पुस्तालाई पनि कला, संस्कृतिको जानकारी होस् भन्ने हेतुले खेलकुदको आयोजना गरेको अध्यक्ष मगरले बताउनुभयो । उहाँले मट्का फोर्ने समूहलाई २५ हजार रुपैँया पुरस्कार प्रदान गरेको बताउनुभयो । उक्त खेल हेर्न झण्डै पाच सय बढिको भिड भेला भएको अध्यक्ष मगरले जानकारी दिनुभयो । शसस्त्र प्रहरी बलको समूह, आयोजकको समूह र यातायात व्यवसायीको समूहले उक्त मट्काफोरमा सहभागिता जनाएका थिए । कुनैपनि समूहले मट्का फुटाउन नसकेपछि तीनै समूहका खेलाडी मिलेर मट्का फुटाउन सफल भएको क्लबका अध्यक्ष मगरले बताउनुभयो ।
यसअघिपनि विभिन्न चाडपर्वलाई लक्षित गर्दै ब्लुअल्पाईन क्लबले जिल्लामा विविध कार्यक्रम आयोजना गर्दै आएको छ । मन्दिर सरसफाई देखि खेलकुदको आयोजना गरेर कला, संस्कृतिको प्रबद्र्धनमा आफूहरु जुटिरहेको ब्लु अल्पाईन क्लबका सदस्य अतिश श्रेष्ठले बताउनुभयो ।
संरक्षणको अभावमा लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमा कमलामाई नगरपालिकाको युवा अघि सरेको बताउँदै कमलामाई नगरपालिकाको मेयर उपेन्दकुमार पोखरेलले भन्नुभयो, “कला, संस्कृति जोगाउने युवाको अभियानलाई स्थानीय सरकारले साथ दिएको छ । युवामा पुराना संस्कृति संरक्षण गर्नुपर्छ भन्ने भावनालाई स्थानीय सरकारले आगामी दिनमापनि सहयोग गर्नेछ ।” नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिमा चासो बढाएको उल्लेख गर्दै मेयर पोखरेलले भेषभूषा र कला संस्कृति संरक्षणमा युवाको चासो बढ्नुले लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको बताउनुभयो ।