सिन्धुली – संघीय सरकारले ‘व्यवसायिक, सिर्जनशिल, प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित शुक्रबार (आज) निजामती सेवा दिवस मनाउँदै छ । यही अवधिमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेसँग आबद्ध रहेका स्थानिय तह अन्तर्गतको सिन्धुलीका कर्मचारी संगठनले निजामती दिवस नमनाउने भन्दै संयुक्त प्रेश विज्ञप्ति जारी गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (स्थानीय) सिन्धुली का अध्यक्ष सुदिप केसी, स्थानीय तह कर्मचारी युनियन सिन्धुलीका अध्यक्ष भरतजंग थापा र स्थानीय तह कर्मचारी संघ सिन्धुलीका अध्यक्ष मुकेश तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजामती दिवसको अवसरमा हुने कार्यक्रमहरुमा सहभागि हुनुपर्ने औचित्य नरहेको उल्लेख गरिएको छ ।
बिहिबार सार्वजनिक गरिएको विज्ञप्तिमा, ‘निजामती सेवा ऐन २०४९ संशोधनको नाममा निजामतीसँग आबद्ध विभिन्न राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सल्लाह सुझावको आधारमा संसोधनकालागि संसदमा पेश हुन गईरहेको पुर्वसन्ध्यामा स्थानीय तहमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सेवा, सुविधा, वृत्तिविकास, अवकाश लगायतका विभिन्न सवालहरुमा कुनैपनि कुरा उल्लेख नभएको विभेदकारी निजामती सेवा ऐनमा भएको व्यवस्था बमोजिम मनाउन लागि रहेको निजामती सेवा दिवसको कार्यक्रमहरुमा सहभागी हुन औचित्य नरहेको’ उल्लेख गरिएको छ ।
