बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा व्लड वैकका स्थापनाका लागि आधा करोड भन्दा बढि संकलन

बिहिवार , भाद्र २१, २०८०

सिन्धुली— रक्त संचार केन्द्र (व्लड वैंक) लाई व्यवस्थित बनाई निःशुल्क बितरणका लागि रेडक्रस सिन्धुलीले एककरोडको अक्षय कोष स्थापनाका लागि चलाएको अभियानबाट एक महिनामा आधा करोड भन्दा बढि दाताहरुबाट संकलन भएको छ ।

रेडक्रस सोसाइटीका अनुसार पहिलो चरणमा तीनसय ३० जना दाताहरुबाट ५१ लाख ८५ हजार ३३५ रुपैंयाँ अक्षय कोष स्थापनाका लागि जुटेको हो । कम्तीमा ५० रुपैंयाँदेखि एकलाख २५ हजारसम्म अक्षय कोषका लागि दाताहरुले प्रदान गरेको रेडक्रस शाखाका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनु भयो । ७ जना दाताहरुले एकलाख भन्दा बढि रकम प्रदान गरेका छन् । २५ हजार भन्दा बढि रकम सहयोग गर्ने दाताहरुलाइ रेडक्रसको विशिष्ट र यशयशस्कर सदस्यता दिइने समेत सभापति श्रेष्ठले बताउनु भयो ।

७ वर्ष अघिदेखि सिन्धुली अस्पताल परिसरमा रहेको आकस्मिक रक्तसंचार केन्द्र संचालनमा समस्या आएकाले अक्षय कोषको व्याजबाट बितरण योग्य रगत राख्नका लागि प्रयोग गरिने उपकरण खरिद तथा प्राविधिक कर्मचारीको व्यवस्थापन गरिने सभापति श्रेष्ठले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनु भएको छ । २४ घण्टै निःशुल्क रगत बितरणको व्यवस्थाका लागि चलाइएको करोड अभियान आगामी असोज मसान्तसम्म चलाइने भएको छ ।

दोस्रो चरणमा जिल्लाका नौ वटा स्थानिय तहहरु, सहकारी, विद्यालय, वन उपभोक्ता समिति, सरकारी कर्मचारीहरुहरुसँग बाँकी रकम संकलन गर्ने लक्ष्य रहेको सभापति श्रेष्ठले बताउनुभयो । रेडक्रसले संचालन गरेको आकस्मिक रक्त संचार केन्द्रबाट वार्षीक ७ सय भन्दा बढिले सेवा लिइरहेको जनाइएको छ ।

व्लड अपलव्ध गराउँदा लाग्ने न्यूनतम शुल्क समेत तिर्न नसक्ने विरामीहरु आउने भएकाले निःशुल्क अभियान चलाएको सभापति श्रेष्ठको भनाई छ । नियमित रगत चढाउनु पर्ने विरामी तथा अन्यका लागि निःशुल्क अभियानले फाइदा पुग्ने रेडक्रसले अपेक्षा गरेको छ । पहिलो चरणमा आधा करोड भन्दा बढि रकम संकलन भएकाले दोस्रो चरणमा लक्षमा पुगिनेमा सभापति श्रेष्ठ ढुक्क छन् । देश तथा विदेशबाट समेत रकम संकलन भएको छ । एक करोड भन्दा बढि रकमलाइ मुल पुंजी बनाएर मुद्धतीमा राख्ने र त्यसबाट प्राप्त हुने व्याजबाट रक्त संचार केन्द्र संचालन गर्ने रेडक्रसले जनाएको छ । प्रत्येक तीन महिनामा खर्च सार्वजनिक गर्ने समेत रेडक्रसको प्रतिवद्धता छ । आफ्नो लगानी भएपछि नागरिकको अपनत्व समेत हुने भएकाले अभियानले मूर्तरुप पाउनेमा रेडक्रसका पदाधिकारीहरु आशावादी छन् ।

प्रतिक्रिया