सिन्धुली – प्राविधिक तथा ब्यवसायीक शिक्षामा स्थानीय सरकारले लगानी गर्न नसक्दा प्राविधिक ज्ञान र पुँजीको अभावमा जिल्लाका युवाहरु बैदेशिक रोजगारीमा जाने क्रममा बृद्धि हुँदै गईरहेको छ ।
जब चुनावको समयमा आउछ तब शिक्षामा लगानी वृद्धि, गुणस्तर सुधार, प्राविधिक शिक्षामा पहुँच वृद्धि लगायतका यावत नाराले प्राथमिकता पाउँछन् ।
चुनावको माहोल सेलाएसंगै शिक्षाका समस्या तथा प्राथमिकताका कुरा सेलाउँदै जान्छन् । पछिल्लो समय सरकारले प्राविधिक शिक्षालाई सबै स्थानीय तहमा पुर्याउने बताएपनि स्थानीय सरकार भने प्राविधिक शिक्षालाई ब्यस्थित गर्ने तथा सञ्चालन गर्ने बिषयमा सुन्य जस्तै बनेको छ ।
जिल्लामा प्राविधिक धारको बिषय पढाई हुने विद्यालयहरुले विद्यार्थीहरुसँग शुल्क असुली गर्दै चलिरहेका छन । स्थानीय सरकारले प्राविधिक शिक्षामा लगानी गर्ने बिषयमा कुनै ध्यान नदिएको प्राध्यापक नानिवावु घिमिरे बताउनुहुन्छ ।
घिमिरे भन्नुहुन्छ, “गुणस्तरीय शिक्षाको खोजी गर्दै दैनिक संयौंको संख्यामा विद्यार्थी विदेश गईरहेका छन् । अवसर तथा सुनिष्चित गन्तव्यका कारण ती युवा जनशक्ति विदेश पलायन हुँदा भोलि गएर वौद्धिक पलायनले राष्ट्रलाई घाटा नलाग्ला भन्न सकिन्न ।”
हरेक स्थानीय तहले प्राविधिक धारका शिक्षालय सञ्चालन गर्दा भविष्य सुनिष्चित भएको सम्झिएर युवा जनशक्तिलाई केही हदसम्म स्वदेशमा नै रोक्ने बाटो बन्न सक्छ तर हरेक स्थानीय तहले प्राविधिक धारका शिक्षण संस्था सञ्चालन गर्ने र युवाहरुलाई स्वदेशमै रोजगार बनाउने तर्फ ध्यान दिन सकेको अवस्था छैन ।
प्राविधिक शिक्षालय अहिले दुईओटा संस्थाबाट प्रदान गरिँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै आएका छन ।
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायीक विद्यालयहरुमा प्राविधिक शिक्षा अध्यन हुने भएपनि विद्यार्थी तथा अभिभावकहरुको आकर्षण खासै देखिन सकेको अवस्था छैन ।
प्राविधिक शिक्षा अध्यन पश्चात रोजगारीको सुनिश्चितता नहुने कारणले पनि विद्यार्थीहरुको आकर्षण घट्दै गएको विद्यार्थी नेता दिपेन्द्र फुयाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्राविधिक शिक्षालाई पनि निशुल्क बनाउनु पर्छ, स्थानीय सरकारले लगानी गर्नुपर्छ र रोजगारीको पनि ग्यारेन्टी गर्नुपर्छ ।” युवाहरुलाई गाउँमै रोजगार बनाउने योजना स्थानीय सरकारले निर्माण गर्नुपर्ने फुयालको भनाई छ ।
सामुदायिक विद्यालयमा केन्द्रको अनुदानमा तयार गरिएको प्राविधिक धारको पाठ्यक्रम कक्षा ९ देखि १२ सम्म सञ्चालन हुँदै आएको छ भने तिनै सामुदायिक विद्यालयमा कक्षा १० पछि सिटिइभिटीको तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन हुँदै आएका छन ।
वर्तमान समयमा विद्यालय शिक्षाको संरचना १ देखि १२ कक्षा सम्म भएको एक दशक बित्न लाग्दा पनि अहिले सम्म यो धारका विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापन गर्न सकेको छैन । प्राविधिक धार सञ्चालनमा आएका विद्यालयका लागि शिक्षक अनुदान मात्र छ दरबन्दी छैन । दरबन्दी नहुँदा अन्य क्षेत्रमा राम्रो अवसर पाउँने बितिकै जाने हुँदा एक शैक्षिक सत्रभरि पनि शिक्षक टिकाउन मुस्किल बनेको विद्यालयहरुको गुनासो छ ।
एकातिर शिक्षक व्यवस्थापन हुन सकेको छैन भने अर्को तर्फ विद्यालयमा प्रयोगात्मक कक्षाका लागि ल्याब तथा अन्य सामग्री अभाव रहेको छ ।
प्राविधिक शिक्षाको पहिलो चुनौती दक्ष प्रशिक्षकहरूको अभाव नै हो । अहिले पनि जिल्लाका अधिकांश प्राविधिक शिक्षालय तथा कलेजहरूमा पठनपाठनका लागि शिक्षक एवम् प्रशिक्षक बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । जिल्लामा आवश्यकताअनुुसार जनशक्ति खोज्दा भेटिने अवस्था छैन, जसले गर्दा प्राविधिक शिक्षामा गुणस्तरको कमी छ ।