सिन्धुली – जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार सिन्धुली जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सूचना प्रकाशित गरी सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही अनुसार बिहिबार नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको संख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाई छ ।
दैनिक करिब औसत दुई सय भन्दा बढि सेवाग्राही नागरिकता तथा राहदानी सम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा बिहिबार २/४ जना मात्र सेवाग्राही आएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीले जानकारी दिनुभयो ।
गीरीले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राहीहरु सेवा लिन सोचेअनुरुप नआउने गरेको बताउनुभयो । “सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारीहरु सेवामा हाजिर छौँ”, उहाँले भन्नुभयो, “तर, सेवा लिन आउँदैनन्, चाडपर्ब भएर पनि हुनसक्छ ।”