बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा २० किलो अबैध चाँदी सहित २ जना पक्राउ

मंगलवार , भाद्र १२, २०८०

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार २० केजी अवैध चाँदी सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

विपि राजमार्गको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कमा गढी प्रहरी चौकीले चेकजाँचको क्रममा बिराटनगरबाट काठमाडौँ तर्फ जादै गरेको बागमती प्रदेश —०१—०२५च १०६९ नम्बरको निजी कारबाट २० किलो चाँदी नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङ विराटनगर महानगरपालिका– ५ का २५ बर्षीय रोहित कुमार यादव र सोहि गाडिमा सवार सप्तरी राजबिराज नगरपालिका–८ घर भई विराटनगर बस्दै आएका ३७ बर्षीय शेचन मानन्धरलाई अबैध चाँदी सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएको चाँदीको हालको मुल्य २४ लाख ६१ हजार ७ सय ६० रहेको छ । उनीहरुलाई थप अनुसन्धानका लागी नियन्त्रणमा लिइएको चाँदी, सवारी साधन तथा ब्यक्तिहरुलाई राजश्व अनुसन्धान कार्यालय बारा पथलैया पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय वीपी राजमार्गको प्रयोग गर्दै अबैध सामान तथा लागु औषधको ओसार पसार बढेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले निजी सवारी साधनहरुको पनि चेकजाँच सुरु गरेको प्रहरी उपरिक्षक सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अपराध न्यूनिकरण तथा अबैद्य सामाग्री ओसार पसारलाई केन्द्रित गरेर नीजी सवारी साधनको पनि चेकजाँच सुरु गरेका छौं ।” निजी सवारी साधनको चेकजाँचले अबैद्य सामाग्री ओसार पसार नियन्त्रण आउने उहाँको भनाई छ ।

प्रतिक्रिया