सिन्धुली – सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउने, स्रोत साधनको उच्चतम प्रयोग गर्ने, दण्डहिनताको अन्त्य गर्ने र मानव अधिकारको रक्षा गर्ने लक्ष्यका साथ गृह मन्त्रालयले पाँच बर्ष अगाडि सदाचार संहिता २०७५ जारी गरेको भएपनि सिन्धुलीमा त्यसको प्रभाबकारी कार्यान्वयन हुन सकेको छैन ।
गृह मन्त्रालय र यस अन्तर्गतका विभाग, निकाय, आयोजना, परियोजना वा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, कारागार लगायतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई लक्षित गर्दै गृह मन्त्रालयले सदाचार संहिता निर्माण गरेको थियो ।
निजामति कर्मचारीको लागि सरकारले जारी गरेको सदाचार संहितामा कार्यसम्पादनमा ढिलासुस्ती नगर्ने, सेवाग्राहीलाई अनावश्यक झन्झट नदिइ काम सम्पन्न गरिदिने उल्लेख छ । आचारसंहितामा लेखे अनुसार जिल्लामा कर्मचारीको व्यवहार नफेरिएको स्थानीय दिपक मिश्रले बताउनुभयो ।
आचारसंहितामा तोकिएको समयमा नियमित रूपले कार्यालयमा हाजिर हुने, बिदा स्वीकृत भएपछि मात्रै बिदा बस्ने, शिष्ट र मर्यादित व्यवहार, जुवातास नखेल्ने, नैतिक आचारभन्दा बाहिरको व्यवहार नगर्ने उल्लेख छ । तर कर्मचारीहरुले यस्ता नियमको कुनै प्रवाह नै नगर्ने गरेको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहालले बताउनुभयो ।

आचारसंहितामा सहकर्मी र सहयोगीहरुको हकहितको ख्याल गर्नुपर्ने, पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने, कर्मचारीले कुनै पनि राजनीतिक दलको टिका टिप्पणी गर्न नपाउने, अशिष्ट, अस्वभाविक, निन्दनीय र निर्दर्यी आचारण प्रस्तुत गर्न नपाईने त्यसैगरी छिटो छरिटो कार्य सम्पादन गर्न प्रयत्नशील रहने, ढिलासुस्ती नगर्ने, अनावश्यक दुःख दिन नपाईने संहितामा उल्लेख छ ।
त्यस्तै नियमित रुपमा वेबसाइट अपडेट गर्नुपर्ने, सर्वसाधारणले मागेको सूचना उपलब्ध गराउनुपर्ने, प्रत्येक कार्यालयले सूचनाको हक सम्बन्धी ऐन बमोजिम हरेक ३÷३ महिनामा कार्यालयले गरेका कामहरु वेबसाइटमा प्रकाशन गर्नुपर्ने लगायतका कुराहरु छन् । तर जिल्लाका कतिपय सरकारी निकायले महिनौं सम्म आफ्नो आधिकारीक वबसाइट अपडेट गर्ने गरेका छैनन् ।
कर्मचारीले कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, सामाजिक संजालमा रमाउने, गीत बजाउने, अनधिकृत वेबसाइट चलाउन नपाउने ब्यवस्था भएपनि फेसबुक र टिकटकमा ब्यस्त हुने गरेका उदाहरणहरु छन ।
नितीगत हिसाबले सरकारी संयन्त्रलाई जनउत्तरदायी र जवाफदेहि बनाउने ब्यवस्था भएपनि सरकारी कर्मचारीहरुले उक्त नितीको पालनामा ध्यान नदिने गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे बताउनुहुन्छ ।