
सिन्धुली– सिन्धुलीबाट बिदेशिने युवाहरुको संख्यामा ब्यापक बृद्धि हुँदै गएको देखिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको श्रावण महिनामा मात्र ११ सय बढि सिन्धुलीबासी नागरिकहरुले राहदानीका लागी आवेदन दिएका छन ।
जिल्ला प्रशासनमा दैनिक राहदानी बनाउने सेवाग्राहीको संख्या धेरै रहेको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीले बताउनुभयो । उहाँका अनुसार श्रावण महिनामा ११ सय ९ जनाले राहदानीका लागी आवेदन दिएका छन । त्यस्तै ६ सय ७१ जनाले आफ्नो राहदानी बुझेर लगेका छन । प्रशासनमा राहदानी बनाउने प्रयोजन उल्लेख नभए पनि अधिकांशले वैदेशिक रोजगारीकै लागि राहदानी बनाउने गरेको गीरीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेहरुको पनि भिड लाग्ने गरेको छ । राहदानी आवेदनका लागी राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएका कारण पनि दुबै तर्फ उत्तिकै भिड हुने गरेको सहायक प्रजिअ गीरीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भन्दा राहदानी लिनेको संख्या बढि देखिएको छ । श्रावण महिनामा ५ सय ४२ महिला र ५ सय ३२ पुरुष सहित १ हजार ७४ जनाले नयाँ नागरिकता लिएका थिए । तर नागरिकता भन्दा ३५ जना बढी नागरिकले राहदानी लिनका लागी आवेदन दिएका छन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अन्र्तगत सार्वजनिक बिदाको दिन समेत राहदानी, नागरिकता तथा राष्ट्रिय परिचय–पत्र सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।