सिन्धुली– पछिल्लो समय जिल्लामा भ्रष्टाचार बढ्दै गईरहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा दर्ता भएका उजुरीहरुको तथ्यांकले पुष्टी गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को श्रावण मसान्त सम्म १ महिनामा ४९ वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्धारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्र्तक्रिया कार्यक्रममा अख्तियार कार्यालयका उपसचिव कृष्णप्रसाद हुमागाईले सिन्धुलीबाट उजुरी बढ्दै गएको बताउनुभयो ।
कार्यालयमा प्राप्त उजुरीहरु मध्ये अधिकाशं अर्थात ४१ वटा उजुरी स्थानीय तहको भएको हुमागाईले जानकारी दिनुभयो । दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीको सबैभन्दा बढी तीनपाटन र गोलञ्जोर गाँउपालिकामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको जनाइएको छ ।
तीनपाटन गाउँपालिकाबाट एक महिनामै ९ ओटा उजुरी परेको छ भने गोलञ्जोरबाट ८ ओटा उजुरी परेको अख्तियार कार्यालय बर्दिबासले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा गत आर्थिक वर्षमा ११ सय ४७ र चालु आर्थिक वर्षको साउन मसान्तसम्म ३ सय १३ गरि जम्मा १४ सय ६० उजुरी परेको छ । जसमध्ये १ सय १३ उजुरीको फस्र्यौट भएको छ भने १३ सय ४७ उजुरीको फस्र्यौट हुन बाकी रहेको छ । अख्तियारमा परेको उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहकै विषयमा परेको अख्तियार कार्यालय बर्दिबासका प्रमुख हुमागाईले बताउनुभयो ।