बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीकाग्रामीण सडक अबरुद्ध हुँदा स्थानीयलाई सास्ती

शुक्रवार , भाद्र ८, २०८०

सिन्धुली– निरन्तर बर्षाका कारण सिन्धुलीका अधिकाश ग्रामीण सडकहरु अबरुद्ध हुन पुगेका छन । मुख्यत वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्गलाई आधार बनाएर बनाइएका ग्रामीण क्षेत्रमा जाने सडकहरु पहिरोमा परिणत भएका छन ।

ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर दैनिक यातायात सेवा प्रभावित हुनेगरेको छ । लगातारको बर्षाले ग्रामीण सडकहरु पुर्ण रुपमा अबरुद्ध भएको यातायातका साधनहरु चल्न छाडेको गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका अधिकांश ग्रामीण सडकहरु पहिरोमा परिणत भएका छन । फिक्कल गाउँपालिकाको ग्रामीण स्थानमा यातायात सेवा ठप्प भएको छ । निरन्तर बर्षा जारी रहेकाले सजग रहन गाउँपालिका कार्यालयले स्थानीयहरुलाई आग्रह समेत गरेको छ ।

फिक्कल गाउँपालिका स्थित सोखुखोलामा आएको बाढिका कारण यातायात सेवा अबरुद्ध हुन पुगेको थियो भने बीच–बीचमा पहिरो र लेदोका कारण समस्या भएको स्थानीय बिष्णु पहाडीले जानकारी दिनुभयो । बर्षा जारी रहेकाले जोखिमपूर्ण रुपमा लोकमार्ग भने सञ्चालनमै रहेको जनाइएको छ ।

गाडी गुडाउन सकिने अवस्था नभएपछि निर्माण र खाद्यान्न सामग्री ढुवानी गर्न सकिएको छैन् । यातायात सेवा ठप्प भएपछि यात्रुलाई आवत जावतमा समस्या भएको छ ।

ग्रामीण सडक अवरुद्ध हुँदा फिक्कल, गोलन्जोर, सुनकोशी, घ्याङलेख, तिनपाटन गाउँपालिकाका स्थानीयलाई सास्ती खेप्नुपरेको छ । राजमार्ग बाहेक सबैजसो ग्रामीण सडक कच्ची छन् । पहिरो नखसेको ठाउँमा समेत कच्ची सडकहरू हिलाम्य भएर सवारी साधन सञ्चालनमा समस्या भएको चालक यज्ञ थापाले बताउनुभयो । बिरामीलाई गाउँबाट बजारसम्म स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता सिर्जना भएको सुनकोशीका स्थानीय लोक बहादुर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया