बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

संरक्षणको अभाबमा हराउँदै सिन्धुलीका ऐतिहासीक पाटी, पौवा र धर्मशाला

बिहिवार , भाद्र ७, २०८०

सिन्धुली – कला, संस्कृति र परम्पराले भरिपूर्ण मानिने सिन्धुलीमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटी, पौवा तथा धर्मशालाको अस्तित्व लोप हुँदै गएको छ । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने र हराउँदै जान थालेका छन् ।

जिल्लाको सुनकोशी गढतिर क्षेत्रमा सडक सञ्जाल र होटल रेष्टुरेण्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्री लगायतका मानिसहरुका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् । अधिकांश गाउँठाउँमा रहेका धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ ।

एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटी पौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाई मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएको प्रति बुढापाका चिन्तित छन् । बाटोको छेउछाउमा पाटी पौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्न् बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने सुनकोशी गाउँपालिका–६ सित्तलपार्टीका लक्ष्मी तिमल्सीनाले बताउनुभयो ।

बटुवाहरु दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरु नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले बताउनुभयो ।

पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बरदान सावित हुन्थ्यो ।

जिल्लाको विभिन्न ठाउँमा रहेका दर्जनांै पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् । गढतिरमा चल्तीमा रहेका सित्तलपार्टी, मालेपाटी, गुठबजारको पार्टी तथा दुम्जाको नेपालथोकमा रहेको पार्टी संरक्षण बिहिन बन्न पुगेको छ ।

सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला पुराना ऐतिहासिक सम्पादाको संरक्षणमा पहल गरिरहेको बताउनुहुन्छ । उहाँले परम्परागत सम्पदा राज्यको महत्वपूर्ण सम्पति भएकाले यसको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो । गाउँपालिका क्षेत्रका मौलिक सम्पदाहरु लोप हुँदै गएकोले तिनीहरुको संरक्षणमा गाउँपालिका र स्थानीयहरु जागरुक बनेको समेत बताउनुभयो ।

प्रतिक्रिया