सिन्धुली– जिल्लाको सबैभन्दा अग्लो स्थान भनिएको फिक्कल गाउँपालिकाको फिक्कल भ्यूटावर भन्दा अग्लो स्थान घ्याङलेख गाउँपालिकामा भेटिएको गाउँपालिकाले दाबी गरेको छ ।
फिक्कल गाउँपालिका–३ फिक्कल डाँडाको उचाई समुन्द्री सतहबाट ७७५८ फिट भएकोमा घ्याङलेख गाउँपालिकाको–५ मा रहेको जाँतेबिसौनी डाँडाको उचाई ७८३८ फिट अर्थात फिक्कल भन्दा ८० फिट अग्लो रहेको पाईएको छ ।
घ्याङलेख गाउँपालिकाले बुधबार कार्यालयका सब ईन्जिनियर वीर वहादुर स्याङतान, घ्याङलेख वडा नम्वर ५ का वडा सदस्य पदम वहादुर लो र स्थानीय बासिन्दा सहितको टोली गई स्थानीयको रोहबरमा स्थलगत रुपमा जिपिएस (GPS Tracking) बाट मापण गर्दा २३८५ मिटर अर्थात ७८२५.१८५ फिट देखिएको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।
उचाईको प्रमाणिकरणका लागी चाडै नापी विभाग, नापी कार्यालयबाट प्रमाणीत गर्नका लागी पत्राचार गरिने कार्कीले जानकारी दिनुभयो ।
साथै जिल्लाकै सबैभन्दा बढी उचाईमा रहेको उक्त डाँडाको नाम जाँतेबिसौनी डाँडा तथा फापरलेख, भुमी चुली भन्ने गरिएको स्थानीयहरुले बताएका छन ।