सिन्धुली– जिल्लाको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले उपाध्यक्ष बिमला माझीलाई अपशब्द प्रयोग गरेको भन्दै नेपाली काँग्रेस मरिण गाउँपालिका कार्य समितिले कार्वाहीको माग गरेको छ ।
आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै जनप्रतिनिधीलाई कार्यालयको छलफलमा अपशब्द प्रयोग गर्दै सूचना लुकाउने हाकिमलाई कार्वाहीको माग गरेको हो ।
मरिण काँग्रेस सभापति रामबहादुर वाइवा र सचिव चन्द्र कुमार स्याङ्तानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “२०८० भाद्र १ गतेका दिन साझ ६ः३० बजेतिर जनप्रतिनिधी र शाखा प्रमुख बीच भएको छलफलका क्रममा हाम्रो पार्टीबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जिले अपशब्द प्रयोग गरी कार्यालयका सबै कागजातहरु हेर्ने अधिकार छैन भन्दै गैर जिम्मेवारपूर्ण जवाफ दिर्दै कानुनी राज्यको खिल्ली उडाएको कुराले नेपाली काँग्रेस मरिण गाउँपालिका सबै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउदछ ।”
नेपाली काँग्रेसले यस्ता कर्मचारी राज्य, राष्ट्रको बिकासको र उन्नतीको सारथी बन्न् नसक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई कार्वाही गर्न मरिणबासीलाई एकजुट हुन आग्रह समेत गरेको छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष विमला माझीले सोमबार पत्रकार सम्मेलन गरेर आफू अन्यायमा परेको बताउनु भएको छ । उपाध्यक्ष माझीले सूचना तथा सञ्चारका क्षेत्रमा खर्च भएको २८ लाख रुपैयाँको बिल तथा भरपाई, आर्थिक प्रगति प्रतिवेदन, टेण्डर सम्झौता, सार्वजनीक खरिद सम्बन्धि कार्यविधि, प्रक्रिया तथा निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा बुझ्न प्रमाणित गर्ने आवश्यक कागजात जानकारी माग गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले सबै कागजातहरु उपाध्यक्षलाई हेर्ने अधिकार नभएको भन्दै आफूलाई चोट पुग्ने शब्दहरुको प्रयोग गरि झर्किलो जवाफ दिएको उहाँले बताउनुभयो ।
उपाध्यक्ष माझीले भन्नुभयो, “स्थानीय तहको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भई आफ्नो काम, कर्तव्य र अधिकार अनुसार जिम्मेबारी निर्वाह गदँै आउँदा वितेको एक वर्षमा भएका सामान्य विवाद र असमझदारीलाई आफैभित्र दबाएर सबै तिर राम्रो सन्देश दिने कोशिस गरिरहे । यसले आफू झनै हेपिदै गएको तथा सहकार्यात्मक नेतृत्व र समन्वय गरेर काम गर्न समस्या थपिएकाले यी कुराहरु सार्वजनीक गर्न आवश्यक ठानें ।”
प्रशासनबाट कतिपय अवस्थामा भुक्तानी दिइने बेलामा आफुले हस्ताक्षर गरिदिनु पर्ने तर ती क्रियाकलाप गरिनु अगाडी आफूलाई कुनै पनि कुरा जानकारी नदिनुले आफ्ना मतदाताले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै दुख व्यक्त समेत गर्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृन ओम बहादुर दर्जिले उपाध्यक्षलाई आफूले अपशब्द नबोलेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपाध्यक्ष ज्यूले माग्नुभएको कतिपय सूचना तथा जानकारी गाउँपालिकाले उपलब्ध गराउन सक्ने भएपनि कतिपय नसकिने अवस्था रहेको बताएको हुँ, उहाँलाई अपशब्द केही बोलेको छैन । बैठकमा उपस्थित वडाध्यक्ष तथा कर्मचारीहरुलाई पनि सोध्न सक्नु हुन्छ, उहाँलाई मैले हेप्नु पर्ने कुनै कारण नै छैन” उहाँले भन्नुभयो ।