सिन्धुली– नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले सुरु गरेको निशुल्क ब्लड बैंक स्थापना गर्न १ करोड रुपैयाँको अक्षयकोष निर्माण गर्ने अभियानमा सहयोग जुट्ने क्रमले तिब्रता पाएको छ ।
अभियानमा हाल सम्म ब्यक्ति, संघसंस्था तथा बिदेशमा रहेका सिन्धुलीबासीहरु बाट समेत कुल १९ लाख ३ हजार १ सय ६८ रुपैयाँ सहयोग संकलन भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।
सिन्धुलीबासी नागरिकहरुलाई निःशुल्क ब्लड उपलब्ध गराउनको लागि अक्षय कोष स्थापना गर्ने योजना राखिएको उक्त कोषबाट ब्लड बैंक संचालन तथा ब्यबस्थापन गरी बिरामीहरुलाई निःशुल्क ब्लड उपलब्ध गराउने उद्देश्य नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताउनुभयो ।
अक्षयकोष निर्माण अभियानमा ५ हजार देखी माथि सहयोग गर्नेहरुको नाम शिलालेखमा राखिने र सम्मान गरिने जनाइएको छ । ब्यक्ति तथा संघ संस्थाहरुबाट ५० लाख र सिन्धुलीका विभिन्न् स्थानीय तहहरुबाट ५० लाख सहयोग संकलन गर्ने र आउँदो असोज महिना सम्म अभियान पुरा गर्ने लक्ष्य राखिएको सभापति श्रेष्ठले बताउनुभयो ।
मानबीय सेवाका लागी महत्वपूर्ण कामको सुरुवात भएकाले सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले सबैसँग अपिल समेत गरेको छ । दैनीक सहयोग संकलन हुने क्रम जारी रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले असार २० गतेबाट अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै सहयोग संकलन गर्ने अभियान सुरु गरेको थियो ।