सिन्धुली – विश्वब्यापी महामारी कोभिड–१९ को समयमा जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिएको सुविधासम्पन्न कोभिड–१९(आइसोलेसन) अस्पताल जिल्लाका जनप्रतिनिधी र कर्मचारीको गैर जिम्मेवारीपनका कारण प्रयोग बिहिन बनेको छ ।
कमलामाई नगरपालिका–६ शिवनगरमा निर्माण गरिएको ५० बेडको कोभिड–१९ युनिट अस्पताल निर्माणमा बागमती प्रदेश सरकारबाट ९७ लाख, जिल्लाका स्थानीय तह, संघसंस्था र व्यक्तिबाट २ करोड २१ लाख र ४७ लाख बराबरको रड, सिमेन्ट, इँटा, ढुंगा बालुवा लगायत निर्माण सामग्री सहयोग प्राप्त भएको थियो । आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट (एचबीयू) समेत जडान गरि प्रयोगमा ल्याइएको थियो ।
तर कोभिड–१९ महामारी सामान्य बन्दै गएपछि उक्त भौतिक संरचना र लाखौंका स्वास्थ्य उपकरणहरु प्रयोग बिहिन बन्न पुगेका हुन । उक्त भवन तथा उक्त भवनमा रहेका स्वास्थ्य उपकरणहरुलाई सञ्चालनमा ल्याउन सकिएको छैन । कोरोना महामारीको विशेष परिस्थिति भन्दै करोडौं लगानीमा निर्माण गरिएको भौतिक संरचना र सामाग्रीहरु प्रयोग बिहिन अवस्थामा थन्कीएर बस्नु सिन्धुलीबासीका लागी दुर्भाग्य भएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो ।
सभापति श्रेष्ठले भन्नुभयो, “जिल्लाका ९ वटै स्थानीय तहले अस्पताल बनाउन ५ लाख रुपैयाँका दरले सहयोग गरेका थिए । सञ्चालन खर्च पनि व्यहोर्ने उनीहरूको निर्णय थियो । तर प्रदेश सरकार र पालिकाले समेत बजेट नदिँदा बन्द गर्नुपर्ने बाध्यतामा पुगेको छ ।” पछिल्लो समय कोभिड अस्पताललाई ट्रमा सेन्टरको रुपमा सञ्चालन गर्ने भनिएपनि बजेट ब्यवस्थापन नहुँदा बन्द हुन पुगेको थियो ।
अस्पतालमा जडान गरिएका भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणहरु हालसम्म सञ्चालन नहुँदा उपयोग गर्न नमिल्ने अवस्थामा पुग्न लागेका छन । जनशक्ति अभावका कारण आईसीयू भेन्टिलेटर सञ्चालन गर्न नसकिएको सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधान बताउनुहुन्छ । भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बाहिर रिफर गर्ने गरिएको छ । कतीपय अवस्थामा आईसीयू भेन्टिलेटर प्रयोगमा नआउँदा उपचारमा आउने बिरामीको मृत्यू समेत हुने गरेको छ ।
उहाँले भन्नुभयो, “आईसीयू, भेन्टिलेटर सञ्चालनका लागी आवश्यक दक्ष जनशक्तिको अभाबका कारण भेन्टीलेटर सञ्चालन हुन सकेको छैन ।” आईसीयू, भेन्टिलेटर सञ्चालनका कम्तीमा १५ जना स्टाफ नर्स, चार जना डाक्टर, मेडिकल कन्सल्टेन्ट, एक्सरे, प्याथोलोजी र स्वीपर लगायतको जनशक्ति आवश्यक पर्छ ।
भेन्टिलेटर मात्र होइन, सरकारले किनेर पठाएका धेरै स्वास्थ्य उपकरण जनशक्ति नभएकै कारण प्रयोग गर्न सकिएको छैन ।
सरकारले आवश्यकता र जनशक्तिको अवस्था नबुझी खरिद गरेका यस्ता करोडौं मूल्यका सामग्री हाल प्रयोगविहीन अवस्थामा छन् । कतिपय उपकरण अब उपयोग गर्न नमिल्ने बनेको छ । यद्यपि जनशक्ति व्यवस्थापन गरेर ती उपकरण सञ्चालन गर्नेतर्फ तिनै तहका सरकारले हालसम्म ध्यान दिएको छैन । त्यसैले सर्वसाधारण बढी शुल्क तिरेर जिल्ला बाहिरका अस्पतालमा उपचार गराउन जान बाध्य छन् ।
महंगा स्वास्थ्य उपकरण खरिद गर्नु र समयमै जनशक्ति व्यवस्थापन गरेर सञ्चालन नगर्नुमा जिल्लाका जनप्रतिनिधी, राजनैतिक दल र कर्मचारीकै नियतमाथि प्रश्न उठ्ने गरेको छ ।
“सरकारले स्थानीय नागरिकहरु समेतको सक्रियतामा भबन तथा करोडौंका उपकरण खरिद गरिरह्यो, तर जनशक्ति व्यवस्थापन र सञ्चालनतिर कहिल्यै ध्यान दिएन । त्यतातिर बजेट नै छुट्याउने काम भएन” एक स्वास्थ्य अधिकारी भन्नुहुन्छ, “ठूला उपकरण खरिद गर्दा मोटो कमिसन आयो । जसको कारण उपल्ला कर्मचारी उतैतिर लागे । जनशक्तिमा कमिसन आउँदैन । त्यता तिर बजेट नै छुट्याइएन ।”
अस्पतालको भौतिक संरचना र स्वास्थ्य उपकरणहरुको उपयोग गर्दै डायलसीस सेवा सुरु गरिएको भएपनि प्रदेश सरकार आवश्यक कर्मचारी र आर्थिक ब्यवस्थापन गर्न नसक्दा बन्द भएको थियो ।
उता प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यवस्थापन समिति अध्यक्ष सुनिता नेपालले भौतिक संरचना र स्वास्थ्य उपकरणहरुलाई प्रयोग गर्ने बारे छलफल भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भवनमा ट्रमा सेन्टर सञ्चालन गर्ने र उपकरणहरु अस्पतालको लागी उपयोग गर्ने बारे छलफल भईरहेको छ, आवश्यक श्रोत र जनशक्ति ब्यवस्थापन गरेर काम अगाडि बढ्छ ।”