बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मरिणमा विनाशकारी ढंगबाट माछा मार्ने कार्य रोक्न ड्रोनको प्रयोग

मंगलवार , जेठ ३०, २०८०

सिन्धुली– माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्ने लगायतका गतिविधिलाई रोक्न सिन्धुलीमा ड्रोनको प्रयोग गरिएको छ । जिल्लाको मरिण गाउँपालिकाले केही व्यक्ति तथा समूहहरुबाट विद्युतीय झट्का (करेन्ट), विषादीजन्य एवं विस्फोटक पदार्थको प्रयोग गरी माछा मार्ने कार्य बढेको भन्दै ड्रोनबाट निगरानि गरिरहेको छ । गाउँपालिका क्षेत्र भित्र पर्ने मरिण खोला लगायतका अन्य सहायक खोलाहरुमा अवैद्य रुपमा माछा मार्ने क्रम नरोकिएपछि ड्रोन क्यामरा र नगर प्रहरीको परिचालन गरिएको मरिण गाउँपालिकाको अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले बताउनुभयो ।

कानुन विपरितका कार्यलाई पूर्णरुपमा रोक लगाई निरुत्साहित गरिएकोले गैर कानुनी रुपमा माछा मार्ने कार्य नगर्न र नगराउन अध्यक्ष प्रख्यातले आग्रह गर्नुभयो । साथै, उहाँले गैर कानुनी रुपमा माछा मार्ने कार्य गरेको पाईएमा शून्य सहनशीलता अपनाई कानुन बमोजिम कडा कार्वाही हुने र सोको लागि सम्बन्धित निकायमा सिफारिस समेत गरिने चेतनावनि दिनुभयो । ‘ विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको छ ’, उहाँले भन्नुभयो ।

माछाको शत्रु करेन्टः सिन्धुलीका खोलाहरुमा माछा मार्न करेन्ट लगाउने क्रम बढ्दै गएपछि माछा हराउँदै गएको स्थानीयको अनुभव छ । जेनेरेटर, ब्याट्री र इन्भर्टरको प्रयोग गरेर माछा मार्ने गरिएको स्थानीय बताउँछन् । सुनकोशी, कमला नदि, मरिण खोला लगायत सहायक खोलामा करेन्ट लगाएर माछा मार्ने काम अत्यधिक बढिरहेको ६७ वर्षिया दिलिप कार्की ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मान्छेसँग माछा प्रत्यक्ष जोडिन्छ, किनकि हामी खान्छौँ।’

दुधौली नगरपालिकाको हरिचरण चौधरी खाने भन्दैमा माछालाई करेन्ट लगाएरै मार्नु ठीक नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ करेन्ट लगाउन आए भने गाउँले मिलेर लखेट्छौँ, तर बस्ती नभएका ठाउँमा लगाइहाल्छन् ।’ जिल्लामा रहेका ठूला नदीमा मात्र होइन, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग भइरहेको छ । कतै लुकिछिपी तथा कतै स्थानीय अगुवासँगै मिलेर पनि करेन्ट लगाउने गरेको पाइन्छ । कतै रमाइलोका लागि त कतै माछाबाट छिटै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइन्छ । सुनकोशी गाउँपालिकाको जनक थापाका अनुसार करेन्टले सबैखाले माछा, अन्डा पार्ने बेलाका माछा र अन्डालाई समेत असर गर्छ । ‘खोलाका अन्य जलचरहरूलाई पनि ठूलो असर परेको छ । यसले समग्र पर्यावरणमै असर पार्ने गर्छ । यो गैरकानुनी काम हो,’ थापा भन्नुहुन्छ, ‘यी सब कुरा जान्दाजान्दै पनि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन ।’ अनुसन्धानले माछाका लागि करेन्ट लगाउँदा अन्य जलचरमा पनि ठूलो असर परेको देखाएको छ ।

कमला नदिको किनारै किनार भएर यात्रा गर्दा करेन्ट लगाएर माछा मार्ने गरेको पटकपटक देखेको बताउनुहुन्छ, दुधौलीका सानु पाखरेल । ‘वस्ति नभएका ठाउँहरुमा वारिपारि नै ब्याट्रीको प्रयोग गरेर माछा मारिरहेको देखिन्छ ।’ उहाँका अनुसार, खान मिल्ने उमेरका माछा मात्र नभई साना माछा पनि करेन्टका कारण मर्छन् । भुरा माछा, माछाको अन्डा समेत नष्ट हुन्छन् । त्यस्तै, माछाको आहार कीरा फट्यांग्र्रा समेत मर्छन् । बचेका माछालाई पनि आहारको अभाव हुन्छ । करेन्ट लगाएपछि सबैखाले माछा मर्ने भएकाले माछा व्यवसायी चिन्तित छन् । ‘माछाका लागि ठूलो शत्रु नै करेन्ट भएको छ। यसलाई नियन्त्रण गर्न सकिएन भने तमोर जस्ता नदीमा पनि माछाको संख्या घट्दै जाने देखिन्छ ’, एक व्यवसायीले बताए ।

कानुन छ, कार्यान्वयन छैन: करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो । करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको हो । २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख छ, ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन ।’ सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कानुन छ तर त्यसको कार्यान्वयन निकै फितलो छ । माछाको लोभमा करेन्ट लगाउँदा सिन्धुलीमै पनि केही व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । तैपनि करेन्टबारे खोलाछेउका बासिन्दा खुलेर कुरा गर्न चाहँदैनन् । स्थानीय प्रशासनसँग पनि त्यस्तो ठूलो जानकारी र तथ्यांक छैन । कमलामाई नगरपालिकाको सिता खड्का भन्नुहुन्छ, ‘हामीले आवाज उठाउने हो । हाम्रो आवाज स्थानीय प्रशासनले सुनेको छैन ।’ करेन्ट लगाएर माछा मार्ने काम गैरकानुनी भनिए पनि कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको उहाँ बताउनुहुन्छ । अर्को पिँढीलाई खोलामा माछा मार्ने वातावरण बनाउन खोलामा करेन्ट लगाउने जस्ता अप्राकृतिक रूपमा माछा मार्ने काम रोकिनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘सरकारी निकायले यसमा विशेष ध्यान दिनुपर्छ । जनचेतना जगाउनुपर्छ । गैरकानुनी काम गर्नेलाई कारबाही गरी त्यस्तो काम गर्न निरुत्साहित बनाउनुपर्छ ।’

माछा मार्न करेन्ट लगाएकोबारे उजुरी गर्ने, बोल्नेहरू कमै मात्र भेटिन्छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिल्वालका अनुसार करेन्ट वा विषादि प्रयोग गरि माछा मारेको सम्बन्धि उजुरी आएका छैनन् । उहाँ भन्नुहुन्छ, ‘त्यस्तो सूचना प्राप्त भए हामी कानुनको दायरामा ल्याउँछौँ । सबै प्रहरी युनिटलाई यसबारे ख्याल गर्न निर्देशन दिएको छु ।’ साथै, उहाँले करेन्ट, विषादि वा विष्फोटक प्रयोग गरि माछा मारेको थाहा पाए खबर गरिदिन स्थानियलाई आग्रह गर्नुभयो ।

जलचर संरक्षण ऐनमा २०७५ सालमा भएको संशोधनले ‘प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रभित्र जलचरको संरक्षण गर्नुपर्ने’ व्यवस्था गरेको छ । तर, यसतर्फ प्रदेश सरकार र स्थानीय सरकारले खासै ध्यान दिएको देखिँदैन । विकासको प्राथमिकतामा सडकलाई राखेका स्थानीय तहहरूको ध्यान जलचर संरक्षणमा कमै मात्र पुग्ने गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया